काठमाडौ । नेपाली कांग्रेस सभापति गगन थापाले राष्ट्रिय सभा संसदीय दलको नेताबाट सम्मानित नेता कृष्ण प्रसाद सिटौलालाई हटाउने निर्णय गरेको भन्दै पार्टीका केही नेताहरूले खुला रूपमा विरोध जनाएका छन् । नेपाली कांग्रेसका नेता, कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीले सामाजिक सञ्जालमार्फत उक्त निर्णय अत्यन्त गलत, अनुचित र पार्टीको हितविपरीत भएको बताएका छन् ।
नेता भीम पराजुलीले लेखेका छन्, “नेपाली कांग्रेसका सम्मानित नेता तथा राष्ट्रिय सभा संसदीय दलका नेता श्री कृष्ण प्रसाद सिटौलाज्यूलाई हटाउने निर्णय अत्यन्त गलत, अनुचित र पार्टीको हितविपरीत छ भन्ने मलाई लागेको छ ।” उनले थप भनेका छन्, “वर्तमान संविधान र उहाँ रहुन्जेल नयाँ हुन् वा पुराना सबैले सम्मान गर्नुपर्ने व्यक्ति हो । लामो राजनीतिक योगदान, राष्ट्रिय राजनीतिमा देखाएको कुशल नेतृत्व र पार्टीको मूल्य–मान्यतालाई जोगाउने अटल अडानलाई कदर गर्दै उहाँलाई हटाउने निर्णय फिर्ता लिनु पर्छ ।”
पराजुलीले पछिल्लो समय पुराना पुस्ताका नेतालाई बेवास्ता गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, “देश, विदेश, भूराजनीति र पार्टी बुझेका योग्य नेताहरूलाई पाखा लगाउने प्रयासले नेपाली कांग्रेसको एकता, साख र भविष्य पनि कमजोर बनाउँछ ।” उनले कांग्रेसको गरिमा र संगठनात्मक शक्ति जोगाउन पार्टी नेतृत्व तथा जिम्मेवार व्यक्तिहरू सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया