बीपी राजमार्ग पुनः सञ्चालनमा

बीपी राजमार्ग पुनः सञ्चालनमा


काठमाडौं । काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको छ । वर्षासँगै रोशी खोलामा बहाव बढेपछि यही वैशाख २१ गते अपराह्नदेखि बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो । रोशी गाउँपालिका–७, घुमाउनेनजिक बाढीले बगाएको ‘डाइभर्सन’ मर्मत गरी बिहीबार ९वैशाख २४० बिहानदेखि बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

“बीपी राजमार्गमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारु गरिएको हुनाले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ,” प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । खोलामा बाढीसँगै वैशाख २१ गते उक्त स्थानमा पाँच माइक्रोबस र ८९ यात्रु बीचभागमा फसेका थिए ।

पछि सुरक्षाकर्मीले उनीहरूको उद्धार गरेका थिए । त्यसयता बाटो बन्द थियो । घुमाउनेनजिक स्थानमा वर्षासँगै समस्या निम्तने गरेको छ । त्यहाँ रोशी खोलामा अस्थायी डाइभर्सन बनाइएको छ । गत वर्ष असोजमा बाढीले उक्त क्षेत्रमा सडक बगाएको थियो । त्यसपछि खोलामा डाइभर्सन बनाएर त्यहीँबाट सवारी आवागमन गरिँदै आएको छ । गएको चैतमा पनि बाढीले सडक बगाएको थियो ।