नेम्वाङकाे ७ दशक यात्रा : सुन्तलाबारीमा खुलेका आँखा बालुवाटारमा बन्द भए

नेम्वाङकाे ७ दशक यात्रा : सुन्तलाबारीमा खुलेका आँखा बालुवाटारमा बन्द भए


काठमाडाैँ ।

२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा आँखा खाेलेका सुवास नेम्वाङले २०८० साल भदाै २६ गते काठमाडाैँकाे बालुवाटारमा सधैँका लागि आँखा चिम्लिए ।

सोमबार बिहानैदेखि बिरामी रहेका नेम्वाङ बेलुका अलिकति सुप पिएर सुतेका थिए । राति १ बजेतिर शौचालयमा ढलेकाे अवस्थामा भेटिएका उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याउँदा उनकाे मृत्यु भइसकेकाे थियाे ।

नेम्वाङ विद्यार्थी राजनीति गर्दा अनेरास्ववियुबाट २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सभापतिसमेत भएका थिए ।

त्यसपछि माले हुँदै नेकपा मार्क्सवादीसँग मिलेर एमाले बनेपछि सोही पार्टीमा आवद्ध भए । एमालेमा भने नेम्वाङ छैटौं महाधिवेशनदेखि केन्द्रीय कमिटीमा आवद्ध भएका थिए ।

२०७१ सालको नवौं महाधिवेशनमा स्थायी कमिटी र २०७८ सालमा चितवनमा भएको १०औं महाधिवेशनबाट उनी एमालेको उपाध्यक्ष बनेका थिए । २०६४ सालमा इलाम-२ बाट विजयी बनेपछि नेम्वाङ संविधानसभाको अध्यक्ष भएका थिए ।

पहिलो संविधानसभा विघटनपछि २०७० संविधानसभा निर्वाचनपछि नेम्वाङले सभाध्यक्ष भएर संविधान लेखनमा दलहरूबीच समन्वय र समझदारी बनाउन महत्वपूर्ण भूमिका निभाए ।

कानुनी पृष्ठभूमिका नेम्वाङ २०४८ र २०५२ गरी राष्ट्रियसभामा २ पटक सदस्य भएका थिए । २०५६ सालको संसदीय निर्वाचनदेखि उनी प्रतिनिधिसभा इलामबाट विजयी हुँदै आएका थिए । कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालेका थिए । उनी २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक नेम्वाङका २ छोरा र २ छोरी छन् । नेम्वाङ संविधानसभामा संघीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउँदै आएका थिए ।

उनले दलहरूबीच चरम बेमेल र विवाद आउँदा संविधानसभा अध्यक्ष र सभामुखका रूपमा समन्वयकारी भूमिका निर्वाह गरेका थिए । शालीन र सौम्य प्रस्तुतिका कारण नेम्वाङ हरेक नागरिकमाझ परिचित छन् । एमालेका तर्फबाट कानून तथा न्याय, सामान्य प्रशासन मन्त्री भएका उनी संसद्को सार्वजनिक लेखा समितिको सभापतिसमेत भएका थिए ।

२०७४ को संसदीय निर्वाचनमा भने उनी एमाले र माओवादी गठबन्धनबाट विजयी भएका थिए । गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।