मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु


झापा। मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ ।

पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ । आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शुभारम्भ समारोहलाई संक्षिप्त सम्बोधन गर्नुभएको थियो ।

मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि योागदान पुर्याउँदै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्माले मानवताको सेवा नै जीवनको सर्वोत्तम धर्म भएको धारणा राख्दै उद्धार अभियानमा सहयोग पुर्याउन सबै देशवासीलाई आह्वान गर्नुभएको छ । आश्रम र फाउन्डेसनको सहकार्यमा तेस्रोपटक यो अभियान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा २६ जना स्वयंसेवकले मेची महाकाली यात्रामा सडक मानवहरूको उद्धार गरी जिल्लास्थित आश्रमहरूमा राखिने छ ।

सातै प्रदेशका १९ जिल्लामा मानव सेवा आश्रमको २३ वटा शाखा सञ्चालनमा छन् । आश्रमले मुलुकको ७७ वटै जिल्लाबाट आफन्तको साथ गुमाएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार एवं तिनको मानवोचित व्यवस्थापन गराउँदै आइरहेको छ ।