भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध

भारतले चिनी निर्यातमा लगायो प्रतिबन्ध


काठमाडौं।भारत सरकारले बुधबारदेखि लागू हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नभएसम्म कायम रहने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वैदेशिक व्यापार महानिर्देशनालय ले जारी गरेको सूचनाअनुसार देशभित्र चिनीको पर्याप्त आपूर्ति कायम राख्न र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यात रोकेको हो । सरकारले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको जनाएको छ । यद्यपि, युरोपेली संघ र अमेरिकामा निश्चित कोटाअन्तर्गत हुने निर्यातमा भने प्रतिबन्ध लागू नहुने बताइएको छ ।

भारत विश्वकै दोस्रो ठूलो चिनी निर्यातकर्ता देश हो । समाचार संस्था रोयटर्सका अनुसार भारतको निर्णयले विश्व बजारमा चिनीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । यसबाट ब्राजिल र थाइल्यान्ड जस्ता प्रतिस्पर्धी उत्पादक देशले एसिया र अफ्रिकाको बजारमा आफ्नो हिस्सा बढाउने अवसर पाउनेछन् । भारत सरकारले यसअघि चिनी मिलहरूलाई १.५९ मिलियन टन चिनी निर्यात गर्न अनुमति दिएको थियो । तर लगातार दोस्रो वर्ष पनि उत्पादन आन्तरिक खपतभन्दा कम हुने प्रक्षेपण गरिएको छ ।

मुख्य उखु उत्पादन क्षेत्रमा कमजोर उत्पादन र ‘अल नीनो’ का कारण मनसुन प्रभावित हुने जोखिमले आगामी सिजनमा चिनी उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।निर्यातका लागि स्वीकृत परिमाणमध्ये व्यापारीहरूले करिब आठ लाख टन चिनीको सम्झौता गरिसकेको र ६ लाख टनभन्दा बढी चिनी निर्यात भइसकेको बताइएको छ । भारत सरकारले केही विशेष सर्त पूरा गर्ने देशलाई भने सीमित रूपमा निर्यात अनुमति दिन सकिने जनाएको छ ।