वर्षा र पहिरोले क्षति पुगेपछि जोमसोम–कागबेनी सडक पुनःस्तरोन्नति

वर्षा र पहिरोले क्षति पुगेपछि जोमसोम–कागबेनी सडक पुनःस्तरोन्नति


मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम–कागबेनी सडकखण्डको स्तरोन्नति सुरु गरेको छ । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत पर्ने उक्त नौ किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि करिब सात करोड रुपैयाँ लागतमा काम अघि बढाइएको हो ।

आयोजनाका अनुसार विसं २०७६ अघि निर्माण सम्पन्न भएको जोमसोम–कोरला सडकखण्डमा वर्षा, पहिरो र सडक संरक्षण संरचनाको अभावका कारण विभिन्न स्थानमा क्षति पुगेपछि स्तरोन्नति थालिएको हो । गत वर्षको साउनमा केही स्थानमा सडक भासिएको तथा ड्रेन, सडक बाल र संरक्षण संरचना नहुँदा थप क्षति पुगेको थियो ।

कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले कोरला नाका र मुक्तिनाथ जोड्ने जोमसोम–कागबेनी सडकलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन संरक्षण तथा स्तरोन्नतिको काम सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनले उक्त सडक स्तरोन्नतिको ठेक्का लिएको छ । चालु आर्थिक वर्षको वैशाखमा सम्झौता भएको यो परियोजनाको काम जेठ पहिलो सातादेखि सुरु गरिएको निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाले बताउनुभयो ।

चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको काम भदौ १५ गतेसम्म सक्नुपर्ने सम्झौता रहेको उहाँले जानकारी दिनुभयो । हाल कागबेनीबाट सडक स्तरोन्नतिको काम सुरु गरिएको छ ।

आयोजना कार्यालयका अनुसार नौ किलोमिटर सडकखण्डमा एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट तथा ९०० घनमिटर आरसिसी ढलान निर्माण गरिनेछ ।

जोमसोमबाट माथि एक किलोमिटर क्षेत्रमा वर्षाका कारण सडक भासिएकाले त्यहाँ ग्याविन वाल निर्माण गरिने भएको छ । साथै पान्डाखोला पुल नजिक आरसिसी ढलान, ड्रेन निर्माण र संरक्षण पर्खाल लगाउने काम पनि गरिने निर्माण कम्पनीले जनाएको छ ।