अघि बढ्यो निकुञ्जको सडक निर्माण, वन्यजन्तु ट्र्यापिङ क्यामरा जडान

अघि बढ्यो निकुञ्जको सडक निर्माण, वन्यजन्तु ट्र्यापिङ क्यामरा जडान


भरतपुर ।

चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को कामका लागि वन्यजन्तु ट्र्यापिङ क्यामरा जडान गरिएको छ ।

निकुञ्जको धु्रवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत हुने क्षेत्र निर्धारण गर्न (ट्र्यापिङ) क्यामेरा जडान गरिएको हो ।

सो क्षेत्रमा १० क्यामेरा जडान गरिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले वन्यजन्तु आवतजावतको संख्या तथ्यांकमा उपलब्ध हुने र त्यसका आधारमा फ्लाइओभर र अन्डरपास निर्माण गर्ने क्षेत्र निर्धारण गरिने बताए । क्यामेरा सो क्षेत्रमा १५ दिन राखिनेछन् ।

निकुञ्जमा जनावर मैत्री पूर्वाधार निर्माणका लागि क्यामरा जडान महत्वपूर्ण रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए । हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्मको सडक कालोपत्र गर्ने सम्भावना कम रहेकाले विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको हो । यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ । वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले संयुक्त रुपमा यसको स्थलगत निरीक्षण समेत गरेका छन ।

क्यामराको तथ्यांकका आधारमा डिपिआर निर्माण गर्दा ‘अण्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने हुलाकी राजमार्ग आयोजनाका निर्देशक शुभराज न्यौपानेले जानकारी दिए। उनले सडक निर्माणका लागि एकसाथ इआइए र डिपिआरको काम अघि बढेको बताए । ध्रुवघाटबाट माडीको रिउसम्म प्रारम्भिकरूपमा सर्भेसमेत गरिने छ । निकुञ्जले क्यामेरा ट्र्यापिङमार्फत वन्यजन्तुको आवतजावको रेकर्ड उपलब्ध गराएपश्चात त्यही तथ्यांकका आधारमा डिजाइनको काम अघि बढाइने निर्देशक न्यौपानेले जानकारी दिए ।

डिपिआर निर्माणका लागि ६ महिनादेखि १ वर्षसम्म समय लाग्ने छ । भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको ९ किलोमिटर जंगल पार गर्नुपर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।

पर्साबाट चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट ठोरी हुँदै नवलपरासीको त्रिवेणी जोड्ने झन्डै ३० किमी बाटो बनाउन, आर्थिक वर्ष २०६८÷६९ मा ठोरीदेखि चितवनको माडी, जगतपुर, मेघौली, कोलवा, बहुवन हुँदै त्रिवेणी जोड्ने हुलाकी बाटोको नक्सा स्वीकृत भएको थियो । दुर्लभ वन्यजन्तु पाइने चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छ ।