प्रजातन्त्र सेनानी नेपालको निधन

प्रजातन्त्र सेनानी नेपालको निधन


मध्यविन्दु ।

प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए ।

प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका उनी २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहेको नेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताए ।

“२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उनले भने, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत तत्कालीन पञ्चायती सरकारले उहाँलाई गिरफ्तार गरेर भैरहवा जिल्ला कारागारमा राखेको थियो ।” उनका एक छोरा, २ छोरी र २ श्रीमती छिन् ।

नेपाली कांग्रेस नवलपुरले प्रजातन्त्र सेनानी नेपालको निधनको शोकमा पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, ३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म जिल्लामा रहेका सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको जिल्ला सचिव होमराज रानाभाटले बताए ।