प्रधानमन्त्री र सभामुखकै अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री र सभामुखकै अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग


काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालले बोलेका अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेका हुन् ।

एमाले प्रमुख सचेतक महरले प्रतिनिधिसभा निमामावलीको नियम ५६ मा रहेका व्यवस्थाबारे सभामुखबाट गलत व्याख्या भएको बताएका छन् ।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिन अगाडि प्रश्न लिने व्यवस्था कहीँ पनि गरिएको छैन भनेर रोष्ट्रमबाट भन्नुभयो । त्यो प्रतिनिधिसभा नियमावली विपरीत छ । म यसमा निमापत्ति गर्न चाहन्छु र स्वयम सभामुखको त्यो शब्द संसदीय रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु,’ महरले भने ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्नका लागि तीन दिन अगावै प्रश्न सभामुखलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको स्मरण विपक्षी सांसदहरुले राखेका थिए । तर सभामुख अर्यालले तीन दिन अगावै प्रश्न टिपाउने प्रावधान नरहेको भनेका थिए ।

यस्तै प्रधानमन्त्री शाहले छिमेकी मुलुक भारतसँगको सीमाका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा “नेपालले पनि भारतको जमिन मिचेको रहेछ” भनेर दिएको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग गरेका छन् ।

‘सार्वभौम देशको प्रधानमन्त्रीले संसद्‌मा उभिएर कुनै अर्को देशको जमिन मिचेको भनेर स्वीकार गर्ने कुराले विश्व समुदायमा कस्तो सन्देश जाला ?,’ उनले भने, ‘त्यसैले यो गम्भीर अभिव्यक्तिलाई संसद्‌को रेकर्डबाट हटाइयोस् ।’