सीमा विवादबारे प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा भारतले के भन्यो ?

सीमा विवादबारे प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा भारतले के भन्यो ?


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे संसद्मा दिएको विवादास्पद अभिव्यक्तिले देशको घरेलु राजनीतिमा तीव्र तरंग फैलिएको छ । यसबारे भारतीयपक्षको पनि प्रतिक्रिया आएको छ ।

बालेनले प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि धेरै ठाउँमा भारतीय जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ सीमापार अतिक्रमणसँग सम्बन्धित रहेको बताएको थियो ।

मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे भारतीय धारणा सार्वजनिक गरेका हुन् । साप्ताहिक प्रेस ब्रिफिङमा उनले प्रधानमन्त्री बालेन्द्र र परराष्ट्र मन्त्रालयले सीमा विवादबारे सार्वजनिक गरेको धारणा हेरेको बताएका छन् । उनले नेपाल र भारतबीच ९८ प्रतिशत सीमांकन सम्पन्न भएको बताए । उनले बाँकी स्थानमा क्रस बोर्डर कपुपेसन र नो म्यान्स ल्यान्डमा कब्जाको विषय रहेको बताए ।

उनले सीमा विवादबारे छलफलका लागि नेपाल र भारतबीच संयन्त्र रहेको उल्लेख गर्दै वार्ताबाट विषय टुंगो लाग्ने बताए ।

प्रधानमन्त्री बालेन्द्रले संसद्मा नेपाल र भारतबीचको सीमा विवादमा यूकेको विषय पनि उठाएका थिए । बालेनले संसद्मा इस्ट इन्डिया कम्पनीसँग भएको सन्धिका कारण उत्पन्न समस्या भएकाले यूकेसँग पनि यो विषय सम्बन्धित हुने बताएका थिए ।

तर, भारतले भने नेपाल र भारतबीचको सीमा विवाद द्विपक्षी विषय भन्दै कुनै तेस्रोपक्षको संलग्नता अस्वीकार्य भएको बताएको छ ।

जसयवालले भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेको भ्रमणबारे पनि प्रतिक्रिया दिएका छन् ।