काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन् ।
मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले विपक्षी दलहरुले राखेका बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् ।
विपक्षी दलसंगको छलफलमा पनि आफूले यसबारे जानकारी गराएको तर सदनको विरोध नहटाउने जवाफ बिपक्षीबाट आएपछि एक साताका लागि सदन स्थगित भएको उनले बताए ।
बुर्लाकोटीले यसबीचमा राजनीतिक छलफल र संवाद हुने भन्दै जेठ २५ गते बस्ने बैठकमा अवरोध हट्ने दाबी गरे ।
महामन्त्री बुर्लाकोटीले दश गजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको देखिएकाले सीमा विवादलाई कूटनीतिक तवरबाट समाधानको पहल गर्नुपर्ने रास्वपाको स्पष्ट धारणा रहेको बताए । त्यस्तै, भारतले मिचेको भूमि फिर्ता हुनुपर्छ भन्ने रास्वपाको मान्यता रहेको उनको भनाइ छ ।
उनले अब बस्ने प्रतिनिधिसभाको बैठकमा लगातार बजेटका बिषयमा छलफल हुने र समयमा नै पारित हुनेगरि अघि बढ्ने गरि विपक्षी दलसँग सहमति भएको समेत जानकारी दिए ।

प्रतिक्रिया