अफगानिस्तान । तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गर्दै गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको दाबी गरेको छ। घटनाले दुई देशबीचको तनाव थप चर्किएको तालिबानले जनाएको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मङ्गलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको थियो। आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको ज्यान गएको बताइएको छ।
घटनामा १४ जना महिला घाइते भएको जानकारी दिँदै तालिबानले सार्वजनिक गरेका तस्बिरहरूमा प्रभावित क्षेत्रको क्षति देखाइएको छ। तालिबानले उक्त आक्रमणलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष हस्तक्षेप र नागरिकमाथिको आक्रमणको संज्ञा दिएको छ।
अफगान अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षमा अफगान भूमिमा भएका पाकिस्तानी सैन्य कारबाहीका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ। सीमावर्ती क्षेत्रमा बढ्दो सैन्य गतिविधिका कारण दुवै देशबीचको सम्बन्ध झन् तनावपूर्ण बन्दै गएको छ।
तालिबानले पाकिस्तानमाथि आफ्ना आन्तरिक सुरक्षा समस्यालाई बहाना बनाएर अफगान भूमिमा बारम्बार सैन्य हस्तक्षेप गरिरहेको आरोप लगाएको छ। पाकिस्तानले भने तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) जस्ता समूहलाई अफगान भूमिबाट सहयोग मिलिरहेको दाबी गर्दै आएको छ।
यद्यपि तालिबानले ती आरोप अस्वीकार गर्दै आएको छ। तालिबानको भनाइमा पाकिस्तानले आफ्ना सुरक्षा कमजोरीको जिम्मेवारीबाट बच्न अफगानिस्तानमाथि निराधार आरोप लगाउने गरेको छ।
विश्लेषकहरूका अनुसार सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि सुरुमा अपेक्षा गरिएको निकट सम्बन्ध टिक्न नसक्दा पाकिस्तान–अफगानिस्तान सम्बन्धमा अविश्वास बढ्दै गएको छ। निरन्तर हवाई आक्रमण र सीमावर्ती झडपका कारण हजारौँ नागरिक प्रभावित भएका छन् भने ठूलो सङ्ख्यामा मानिस विस्थापित हुन बाध्य भएका छन्।

प्रतिक्रिया