मन्त्री पुनको पहिलो दिनमै तीन महत्वपूर्ण निर्णय

मन्त्री पुनको पहिलो दिनमै तीन महत्वपूर्ण निर्णय


काठमाडौँ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नो मन्त्रालय अन्य स्थापित मन्त्रालयहरूजस्तो तयारी अवस्थामा नरहेको बताउँदै सबै काम शुन्यबाट सुरु गर्नुपर्ने चुनौती रहेको बताएका छन् । कार्यभार सम्हालेको पहिलो दिनमै उनले मन्त्रालयलाई गति दिन र संस्थागत संरचना बनाउन केही महत्वपूर्ण निर्णयहरू गरेका छन् ।

मन्त्री पुनका अनुसार मन्त्रालयको कामलाई कानुनी वैधानिकता दिन र व्यवस्थित बनाउन ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार पार्ने पहिलो निर्णय गरिएको उनले जानकारी दिएका छन् ।

नयाँ मन्त्रालय भएकाले यसलाई सुचारु रूपमा चलाउन कति कर्मचारी आवश्यक पर्छ र कार्यविभाजन कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न ‘संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने निर्णय भएको छ । कामलाई छिटो, छरितो र प्रभावकारी बनाउन आवश्यक दरबन्दी निश्चित गर्न यो कदम चालिएको हो ।

हाल विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई कसरी प्रभावकारी बनाउने र एकद्वार प्रणालीबाट अगाडि बढाउने भन्ने विषयमा गहन छलफल तत्काल सुरु गर्ने निर्णय समेत मन्त्री पुनले गरेका छन् ।

आफ्नो कार्यशैलीबारे सामाजिक सञ्जालमा अपडेट दिँदै मन्त्री पुनले भनेका छन्, ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शुन्यबाट सुरु हुँदैछ। यो मन्त्रालय चलाउन अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थामा छैनन् । तर हामी दृढताका साथ अघि बढ्छौं, हेर्दै जानुहोला ।’