उमेरको हिउँ

उमेरको हिउँ


  लीला अनमाेल,काठमाडौँ।

      कविता
​बारीको डीलमा उभिएर हेर्छु
अम्बाको बुट्टाले माटो चपाउँदै जरा फैलाएछ
हिजोअस्ति मात्र पलाएको पालुवा
आज सिङ्गो आकाशतिर हात बढाउँदै हुर्किएछ।
​खोरबाट फुत्किएको बाख्राको पाठो
मकैका ढोडहरू नाघ्दै, बुरुक-बुरुक उफ्रिँदै
बैँसको नयाँ पदचाप पछ्याउँदै बढेछ।
र, काँडाहरूको पहराभित्र लुकेको गुलाब
गर्वले छिप्पिएर, एउटा सिङ्गो मुस्कानझैँ कोपिलामा फक्रिएछ।
​यी सब फेरिएका दृश्यहरू हेर्दा
छातीभित्र कतै आनन्दको मूल फुट्छ
लाग्छ— प्रकृति उत्सवलगायत मुस्कुराइरहेछ
सिर्जनाको यो फैलावट कति प्रिय लाग्छ!
​ठीक त्यही बेला
साँझको मधुरो उज्यालो बोकेर म कोठाभित्र छिर्छु
र, भित्ताको ऐनाको सामुन्ने उभिन्छु।
​ऐनामा एउटा अर्कै ऋतु चलिरहेको हुन्छ
जहाँ कपालका रेशामा हिउँ पग्लिन थालेको छ
आँखाको कुनाबाट समयले आफ्नै रेखाहरू कोरेको छ।
त्यहाँ न त अम्बाको जस्तो नयाँ हाँगा पलाउँछ
न गुलाबको जस्तो ताजा कोपिला नै लाग्छ।
​त्यहाँ त
भविष्यको एउटा चिसो छायाँ सर्दै गरेको देखिन्छ।
​धर्तीको हरेक अङ्कुरणमा उत्सव मनाउने यो मन
आफ्नै उमेरको पाना पल्टिँदा किन यसरी झस्किन्छ?
संसारको ‘बढ्नु’ मा जिन्दगी देख्ने आँखाले
आफ्नै ‘बढ्नु’ मा किन केवल घट्दै गएको आयु देख्छ?
​प्रकृतिको यो कस्तो सुन्दर तर क्रूर विरोधाभास
जहाँ अरूको विकासमा उत्सव भेटिन्छ
तर आफ्नै उमेरको ऐनामा, केवल एउटा मौन उदासी भेटिन्छ!