काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अल्जेरियाविरुद्ध आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासका सबैभन्दा सफल खेलाडीका रूपमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियानको सुखद सुरुआत गर्यो ।
कान्सास सिटी स्टेडियममा मंगलबार भएको खेल मेसीका लागि ऐतिहासिक रह्यो । अर्जेन्टिनाको सुरुआती टोलीमा स्थान बनाउँदै उनी विश्वकपका छ संस्करण खेल्ने पहिलो फुटबलर बने ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बुधबार यही कीर्तिमान बराबरी गर्ने सम्भावना छ भने मेक्सिकोका अनुभवी गोलकिपर गिलेर्मो ओचोआले पनि प्रतियोगितामा खेल्न पाए यो सूचीमा सामेल हुनेछन् ।
यो खेल मेसीको २००औँ अन्तर्राष्ट्रिय खेल पनि थियो ।
खेलको चौथो मिनेटमा मेसीले गोल गरे पनि अफसाइडका कारण त्यो गोल मान्य भएन । तर १७औँ मिनेटमा उनले अल्जेरियाका गोलकिपर लुका जिदानले फर्काएको बललाई सदुपयोग गर्दै गोल गरे र विश्वकपमा आफ्नो गोल संख्या १५ पुर्याए ।
त्यससँगै उनले ब्राजिलका महान स्ट्राइकर रोनाल्डोको १५ विश्वकप गोलको कीर्तिमान बराबरी गरे । त्यसअघि फ्रान्सका किलियन एमबाप्पेले सेनेगलविरुद्ध गोल गर्दै विश्वकप गोल संख्या १४ पुर्याएर केही घण्टाका लागि मेसीलाई उछिनेका थिए ।
तर मेसी त्यतिमै रोकिएनन्। उनले थप दुई गोल गर्दै विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे र जर्मनीका मिरोस्लाभ क्लोजेको १६ विश्वकप गोलको कीर्तिमानसँग बराबरी गरे । यो उनको अन्तर्राष्ट्रिय करियरको १२०औँ गोल पनि थियो ।
२० वर्षअघि सुरु भएको यात्रा
मेसीले सन् २००६ मा १८ वर्षको उमेरमा विश्वकप डेब्यु गरेका थिए । संयोगले अल्जेरियाविरुद्धको यो खेल उनले अर्जेन्टिनाका लागि पहिलो विश्वकप खेल खेलेको ठीक २० वर्ष पुगेको दिन परेको थियो ।
२००६ जुन १७ मा उनले सर्बिया र मोन्टेनेग्रोविरुद्ध पहिलो पटक विश्वकपमा मैदान उत्रिएका थिए । त्यही विश्वकपमा फ्रान्सका महान खेलाडी जिनेदिन जिदानले पनि आफ्नो अन्तिम विश्वकप खेलेका थिए ।
अर्को ऐतिहासिक उपलब्धि
मेसी विश्वकप इतिहासमा लगातार पाँच खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। २०२२ विश्वकपका अन्तिम चार खेलमा गोल गरेका उनले २०२६ संस्करणको पहिलो खेलमै त्यो क्रमलाई निरन्तरता दिएका हुन् ।
यस्तै, उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कम उमेरका अर्जेन्टिनी खेलाडी बनेका थिए भने अहिले विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको उमेरका खेलाडी पनि बनेका छन् ।
यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो, जसले २०१८ विश्वकपमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
दर्शकबाट विशेष सम्मान
ह्याट्रिक पूरा गरेपछि मेसीलाई खेलको अन्त्यतिर निको पाजले प्रतिस्थापन गरेका थिए। मैदान छाड्दा करिब ७० हजार दर्शकले उभिएर सम्मान व्यक्त गरेका थिए ।
अर्को साता ३९ वर्ष पुग्न लागेका मेसीसँग अझै थप कीर्तिमान बनाउने अवसर छ। अर्जेन्टिनाले अब समूह चरणमा अस्ट्रिया र जोर्डनसँग खेल्नेछ ।
यदि मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप जित्न सफल भयो भने उनी विश्वकप उपाधि रक्षा गर्ने पहिलो अर्जेन्टिनी कप्तान बन्नेछन् ।
यस्तो उपलब्धि अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाले समेत हासिल गर्न सकेका थिएनन् ।

प्रतिक्रिया