काठमाडौं । सरकारले आगामी असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा सरकारले नयाँ कार्ययोजनाअनुसार सुकुम्बासी समस्या समाधानको काम अघि बढाएको बताइन् ।
मन्त्री रावलका अनुसार सुकुम्बासीलाई लालपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ र असारको तेस्रो हप्तादेखि वितरण अभियान सुरु गरिनेछ ।
‘लालपूर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ । अब असारको तेस्रो हप्तादेखि हामीले लालपूर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौँ,’ उनले भनिन् ।
उनले विगतका सुकुम्बासी आयोगहरू राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग भएकाले समस्या समाधान हुन नसकेको टिप्पणी गर्दै अब नयाँ संरचनामार्फत काम अघि बढाइने बताइन् । उनका अनुसार जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरी सुकुम्बासी व्यवस्थापनको काम गरिनेछ भने केन्द्रमा विज्ञहरूको समितिले आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।
मन्त्री रावलले विगत ३० वर्षमा सुकुम्बासीबाट १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म करिब नौ हजार जनाले मात्रै लालपूर्जा प्राप्त गरेको जानकारी दिइन् ।

प्रतिक्रिया