‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३मा ‘उनको स्वीटर’ उत्कृष्ट, मदनकृष्णलाई दीर्घ साधना सम्मान

‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३मा ‘उनको स्वीटर’ उत्कृष्ट, मदनकृष्णलाई दीर्घ साधना सम्मान


राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक विशेष समारोहबीच ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ । समारोहमा नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने स्रष्टा र कलाकारहरूलाई सम्मानित गरियो ।

यस वर्षको प्रतिष्ठित ‘दीर्घ साधना सम्मान’ वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ। चलचित्र क्षेत्रमा दशकौँदेखि पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

पुरस्कारको मुख्य विधाहरूमा चलचित्र ‘उनको स्वीटर’ ले वर्चस्व जमाएको छ। ‘उनको स्वीटर’ ले उत्कृष्ट चलचित्रको उपाधि जित्यो भने सोही चलचित्रबाट नवीन चौहान उत्कृष्ट निर्देशक र मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उत्कृष्ट अभिनेताको पुरस्कार भने चलचित्र ‘परान’बाट वरिष्ठ अभिनेता नीर शाहले हात पारे।

चलचित्र ‘परान’का लागि दिपकप्रसाद आचार्य र यम थापाले उत्कृष्ट लेखकको पुरस्कार प्राप्त गरे । प्राविधिक विधातर्फ ‘कोशेढुंगा’का बाबु श्रेष्ठले उत्कृष्ट छायाङ्कन र नहकुल खड्काले उत्कृष्ट सम्पादनको पुरस्कार जिते । नेपाल भाषाको चलचित्र ‘इन्दिरा धिमे मैचा’ले उत्कृष्ट आदिवासी चलचित्रको अवार्ड पायो ।

त्यस्तै, ‘जुरी प्रोत्साहन’ पुरस्कार आना शर्मा (रमिताको पिरती) र बिमोचन दवाडी (झरीपछीको इन्द्रेणी) लाई प्रदान गरियो । ज्योतिराज राईको चलचित्र ‘नाक्छोङ’ ले विशेष चलचित्र पुरस्कार प्राप्त गर्‍यो।

समारोहमा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान समेत प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता डा. सिंह गुरुङ, पत्रकार प्रकाश सुवेदी, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्रीहरू एञ्जिला सुब्बा र लक्ष्मी बर्देवा, निर्माता बिनोद सेरचन र प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे रहेका छन् । स्वर्गीय पत्रकार दिनेश सिटौलालाई मरणोपरान्त ५० हजार नगदसहित सम्मान गरियो ।

पुरस्कार वितरण समारोहको बीचमा चर्चित गायक-गायिका देविका बन्दना र नरहरी प्रेमीले उत्कृष्ट साङ्गीतिक प्रस्तुती दिएका थिए । समारोहमा चलचित्रकर्मी, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

विजेताको संक्षिप्त सूची:

• दीर्घ साधना सम्मान: मदन कृष्ण श्रेष्ठ (रु. ३,७५,०००)

• उत्कृष्ट चलचित्र: उनको स्वीटर (रु. २५,०००)

• उत्कृष्ट निर्देशक: नबिन चौहान (रु. २५,०००)

• उत्कृष्ट अभिनेता: नीर शाह (रु. २५,०००)

• उत्कृष्ट अभिनेत्री: मिरुना मगर (रु. २५,०००)

• उत्कृष्ट लेखक: दिपक प्रसाद आचार्य र यम थापा (रु. २५,०००)

• उत्कृष्ट आदिवासी चलचित्र: इन्दिरा धिमे मैचा (रु. २५,०००)