मालबाहक सवारीमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ : महानिर्देशक रिजाल

मालबाहक सवारीमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ : महानिर्देशक रिजाल


काठमाडौँ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका नव नियुक्त महानिर्देशक उद्धवप्रसाद रिजालसँग मंगलबार भेटवार्ता गरेको छ ।

भेटका क्रममा महासंघको प्रतिनिधिमण्डलले महानिर्देशक रिजाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै मालबाहक सवारी क्षेत्रले भोग्दै आएको विविध समस्या बारेमाजानकारी दिएको थियो । साथै, यस क्षेत्रको समस्या समाधानका लागि महानिर्देशक रिजालको ध्यानाकर्षणसमेत गरिएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिए ।

व्यवसायीहरूको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै महानिर्देशक रिजालले आफू मालबाहक सवारी क्षेत्रका साथै समग्र यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न लागी पर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघ महासचिव राजेन्द्र विक्रम बानियाँले बताए ।

भेटघाट कार्यक्रममा व्यवसायीहरूले भारतीय ट्रकहरूले निर्वाध रुपमा नेपाल प्रवेश गरेको तथा ओभरलोड बोकेर गुड्दा सडक भत्केर राष्ट्रको लगानी डुब्ने अवस्था पुगेको विषयलाई व्यवसायीहरले महानिर्देशक समक्ष राखेका थिए । यीनै कारणले गर्दा नेपाली ट्रक व्यवसायीहरू धारासायी हुने अवस्थामा पुगेको गुनासो व्यवसायीहरूले राखेका थिए ।

विशुद्ध रुपमा नेपालको निजी क्षेत्रबाट सञ्चालित मालबाहक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको भएपनि राज्यको स्पष्ट कानुन नहुँदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था पुगेको जानकारी प्रतिनिधि मण्डलले महानिर्देशक रिजालसमक्ष गराएका थिए ।

व्यवसायीहरूको समस्या र मागलाई उचित सम्बोधन गर्ने बताउँदै रिजालले समस्याहरूको समाधानका लागि व्यवसायीहरूसँग निरन्तर संवादमा रहने र यातायात क्षेत्रको नीतिगत सुधारका लागि आवश्यक बुँदाहरू लिएर एउटै टेबलमा व्यवसायीहरूसँग छलफल गर्ने बताए ।