अमेरिका–इजरायल–इरान युद्ध : कुन देशमा कति मारिए ?

अमेरिका–इजरायल–इरान युद्ध : कुन देशमा कति मारिए ?


एजेन्सी । अमेरिका–इजरायल र इरानबीच भएको युद्ध अन्त्य गर्न अन्ततः युद्धविराम तथा सहमति भएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार फेब्रुअरी २८ मा सुरु भएको यस युद्धमा पश्चिम एसियाभर कम्तीमा ७,३०० भन्दा बढी मानिसको ज्यान गएको छ । यद्यपि विश्लेषकहरूका अनुसार वास्तविक मृत्यु सङ्ख्या यसभन्दा धेरै हुन सक्ने सम्भावना छ ।

फेब्रुअरी २८ देखि इरान र लेबनानमा मात्र ७,३०० भन्दा बढी मानिस मारिएका छन् । दुवै देशका सरकारी विवरणअनुसार मृतकमध्ये सयौँ बालबालिका र दर्जनौँ स्वास्थ्यकर्मी रहेका छन् । यसबाहेक पश्चिम एसियाका अन्य मुलुकहरूमा पनि युद्धका कारण धेरैले ज्यान गुमाएका छन् ।

विशेषज्ञहरूका अनुसार इन्टरनेट बन्द, सञ्चारमाध्यममाथिको नियन्त्रण, सरकारी प्रतिबन्ध तथा सशस्त्र समूहहरूको उपस्थितिका कारण वास्तविक क्षतिको विवरण बाहिर आउन सकेको छैन ।

बेलायतस्थित च्यारिटी संस्था एक्शन अन आर्म्ड भायोलेन्सका कार्यकारी निर्देशक डा. इयान ओभरटनले युद्धग्रस्त मुलुकहरूमा हताहतको विवरण प्रायः अपूर्ण, ढिलो वा स्वतन्त्र रूपमा प्रमाणित गर्न कठिन हुने बताए । उनका अनुसार युद्ध सकिएको वर्षौँपछि पनि वास्तविक मृत्यु सङ्ख्या विवादकै विषय बन्न सक्छ ।

इरानमा ३,४६८ भन्दा बढीको मृत्यु

इरानी सरकारका अनुसार अमेरिकी तथा इजरायली आक्रमण सुरु भएदेखि अप्रिलको मध्यसम्म कम्तीमा ३,४६८ जना इरानी मारिएका थिए । तीमध्ये ४९९ महिला रहेका छन् । सरकारी समाचार संस्था आईआरएनएका अनुसार मृतकमध्ये १,४६० सर्वसाधारण र २,००८ सैनिक थिए ।

तर अमेरिकास्थित मानवअधिकार संस्था एचआरएएनएले मृत्यु सङ्ख्या अझ बढी रहेको दाबी गरेको छ । संस्थाको मे १८ को प्रतिवेदनअनुसार ३,६३६ जनाको मृत्यु भएको छ, जसमा १,७०१ सर्वसाधारण (३०७ बालबालिकासहित), १,२२१ सैनिक तथा ७१४ जनाको पहिचान खुल्न बाँकी रहेको उल्लेख छ ।

संस्थाले सरकारको इन्टरनेट बन्द, घटनास्थलमा पुग्न कठिनाइ तथा राजनीतिक दमनका कारण आफूले सङ्कलन गरेको विवरणलाई पनि न्यूनतम अनुमान मात्रै मानेको जनाएको छ ।

एचआरएएनएका उपनिर्देशक स्कायलर थम्पसनका अनुसार अधिकारीहरूले धेरैजसो मृत्युका विवरण लुकाउने गरेका छन् र पीडित परिवारलाई सार्वजनिक रूपमा बोल्न दबाब दिने गरिएको छ ।

विद्यालय र खेलकुद हलमा आक्रमण

इरानी अधिकारीहरूले अमेरिका र इजरायलमाथि देशभरका नागरिक संरचनालाई निशाना बनाएको आरोप लगाएका छन् । बीबीसी भेरिफाइका अनुसार युद्धको पहिलो दिन अमेरिकी मिसाइल आक्रमणमा मीनाब शहरको एक विद्यालयमा प्रहार भएको थियो । इरानी अधिकारीहरूले उक्त घटनामा १६८ जनाको मृत्यु भएको, जसमा ११० बालबालिका रहेको बताएका छन् । अमेरिकी सेनाले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसको केही दिनपछि लामेर्द शहरमा बालिकाहरूको भलिबल प्रतियोगिता भइरहेका बेला एक खेलकुद हलमा मिसाइल प्रहार हुँदा २० जनाको मृत्यु भएको इरानले जनाएको छ । अमेरिकाले उक्त आक्रमण अस्वीकार गरे पनि केही विशेषज्ञहरूले अमेरिकी निर्मित प्रिसिजन स्ट्राइक मिसाइल (PrSM) प्रयोग भएको हुन सक्ने बताएका छन् ।

लेबनानमा करिब ४ हजारको मृत्यु

इरानका सर्वोच्च नेताको हत्या भएपछि मार्च २ मा हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेसँगै युद्ध फेरि चर्किएको थियो । त्यसको जवाफमा इजरायलले दक्षिणी लेबनानमा हवाई तथा स्थल आक्रमण सुरु गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता इजरायली आक्रमणमा ३,९१२ जनाको मृत्यु भएको छ । मृतकमध्ये ३६६ महिला र २४७ बालबालिका छन् ।

मृतकमध्ये कति जना हिजबुल्लाह लडाकु थिए भन्ने स्पष्ट छैन । हिजबुल्लाहले पनि आफ्ना क्षतिको आधिकारिक विवरण सार्वजनिक गरेको छैन । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्ध सुरु भएयता ३,००० हिजबुल्लाह लडाकु मारिएको दाबी गरेका छन् ।

मार्चको सुरुमा पूर्वी बेका उपत्यकाको एक बस्तीमा इजरायलको व्यापक हवाई तथा स्थल आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो ।

अप्रिल ८ मा भएको अर्को ठूलो आक्रमणमा मात्र १० मिनेटभित्र कम्तीमा ३६१ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् । इजरायली सेनाले भने त्यस दिन २५० हिजबुल्लाह लडाकुलाई निशाना बनाइएको जनाएको थियो, तर लेबनानले ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएको दाबी गरेको छ ।

यसबीच, संयुक्त राष्ट्रसंघका सात शान्ति सैनिक पनि लेबनानमा मारिएको पुष्टि भएको छ ।

ट्रम्पको आलोचना

नागरिकको ठूलो क्षतिका कारण इजरायलको सैन्य अभियानको अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ शिखर सम्मेलनका क्रममा इजरायली सेनाको कारबाहीप्रति असन्तुष्टि जनाउँदै “धेरै मानिस मारिएका छन्” भनेका थिए ।

उनले कुनै एक व्यक्तिलाई खोज्ने क्रममा पूरै अपार्टमेन्ट भवन ध्वस्त पार्नु आवश्यक नहुने र त्यहाँ बस्ने सबै मानिस हिजबुल्लाहका सदस्य नहुने टिप्पणी गरेका थिए ।

इजरायलमा ६० जनाको मृत्यु

इजरायली अधिकारीहरूका अनुसार जुन १८ सम्म इरानी आक्रमण र हिजबुल्लाहसँगको युद्धमा ६० जनाको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार मृतकमध्ये २९ जना सर्वसाधारण थिए, जसमा २१ जना इरानी मिसाइल आक्रमणमा मारिएका थिए । बाँकी ३१ जना इजरायली सैनिक युद्धका क्रममा मारिएका थिए भने एक जनाको ‘फ्रेन्ड्ली फायर’ का कारण मृत्यु भएको थियो ।

इजरायलले इरानमाथि जनघनत्व भएका क्षेत्रमा क्लस्टर बम प्रयोग गरेको आरोप लगाएको छ । मार्चमा ह्युमन राइट्स वाचले पनि तेहरानमाथि नागरिक क्षेत्रमा क्लस्टर बम प्रयोग गरी युद्ध अपराध गरेको आरोप लगाएको थियो ।

खाडी मुलुकहरूमा पनि युद्धको प्रभाव

अमेरिका–इजरायली आक्रमणको जवाफमा इरानले अमेरिकी सैन्य अड्डा रहेका छिमेकी अरब मुलुकहरूमा पनि ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यी आक्रमणमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानका सैन्य अड्डा प्रभावित भएका थिए । धेरै मिसाइल नागरिक पूर्वाधार, विमानस्थल, ऊर्जा केन्द्र तथा बन्दरगाहमा खसेका थिए ।

यूएईका राष्ट्रपति सल्लाहकार डा. अनवर गर्गाशले इरानको आलोचना गर्दै छिमेकी मुलुकहरूसँग युद्ध नगर्न आग्रह गरेका थिए ।

यूएईको रक्षा मन्त्रालयका अनुसार त्यहाँ १३ जनाको मृत्यु भएको छ । अल जजिरा र एजेन्स फ्रान्स प्रेसका अनुसार इराकमा १०० भन्दा बढी मानिस मारिएका छन् । तीमध्ये कम्तीमा ८० जना इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेज (PMF) का सदस्य थिए ।

पेन्टागनका अनुसार पश्चिम एसियामा तैनाथ १३ अमेरिकी सैनिक पनि मारिएका छन् । सात जना इरानी आक्रमणमा तथा छ जना इराकमा इन्धन भर्ने विमान दुर्घटनामा ज्यान गुमाएका थिए ।

यस्तै, अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) का अनुसार होर्मुज जलडमरूमध्य तथा पश्चिम एसियाका अन्य समुद्री क्षेत्रमा जहाजमाथि भएका आक्रमणमा विभिन्न देशका १४ जना नाविकको मृत्यु भएको छ ।

विशेषज्ञहरूका अनुसार पहुँचको अभाव, भौतिक संरचनाको विनाश र राजनीतिक दबाबका कारण वास्तविक क्षतिको पूर्ण विवरण अझै सार्वजनिक हुन सकेको छैन । त्यसैले युद्धको अन्तिम मृत्यु सङ्ख्या हाल उपलब्ध आधिकारिक तथ्याङ्कभन्दा निकै बढी हुन सक्ने उनीहरूको निष्कर्ष छ ।