हाम्रो सरकार एक्सप्रेस–वेमा छ, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ – प्रधानमन्त्री बालेन

हाम्रो सरकार एक्सप्रेस–वेमा छ, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ – प्रधानमन्त्री बालेन


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो नेतृत्वको सरकार तीव्र गतिमा अघि बढिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म सरकार नरोकिने बताएका छन् । उनले सरकारलाई लोकल सडकमा होइन, ‘एक्सप्रेस–वे’मा गुडिरहेको गाडीको संज्ञा दिँदै आलोचनालाई स्वाभाविक रूपमा लिएको बताए ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपक्षी र शुभेच्छुकहरूले दिएको सुझावप्रति धन्यवाद व्यक्त गर्दै भने, “हाम्रो गाडी लोकल सडकमा होइन, एक्सप्रेस–वेमा हिँडेको छ । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।”

राजनीतिक परिवर्तनलाई ‘हावाको लहर’सँग तुलना गरिएकाप्रति प्रतिक्रिया दिँदै उनले रास्वपाले हावा होइन, बाढी ल्याएको दाबी गरे ।

“हामीले हावा ल्याएका होइनौँ, बाढी ल्याएका छौँ । खोला सही ठाउँमा बगेपछि यताउता जाँदैन,” उनले भने ।

प्रधानमन्त्री शाहले जनताकै विश्वासका कारण रास्वपा राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको उल्लेख गर्दै आफूहरू स्पटलाइट खोजेर नआएको बताए ।

“स्पटलाइटमा आएपछि त्यसलाई कायम राख्न गाह्रो हुन्छ । तर हामी आफैँ आएका होइनौँ, जनताले हामीलाई यहाँ ल्याएका हुन् । त्यसैले जनता सधैँ अगाडि रहन्छन्,” उनले भने ।

सुशासन र पारदर्शिताप्रति सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै शाहले कानुन र नियमको पूर्ण पालना गर्ने बताए ।

“हामी नियममा बस्छौँ, नियम मान्छौँ । सबै कुरा नियन्त्रणमा छ । पाँच घण्टा मात्रै होइन, पाँच वर्षसम्म पनि आवश्यक परे अख्तियारसँग सोधेर काम गर्छौँ,” उनले भने ।

हालै आफ्नो भारत भ्रमण र बेलायतसँग सम्बन्धित अभिव्यक्तिलाई लिएर उठेका प्रश्नप्रति पनि उनले प्रतिक्रिया दिए ।

“मेरो राष्ट्रियतामाथि कसैले चिन्ता गर्नुपर्दैन । बेलायतसँग कुनै प्रमाण छ भने मागेको मात्रै हो, मध्यस्थता गरिदिनुस् भनेको होइन,” उनले स्पष्ट पारे ।

पार्टीभित्रको एकतालाई जोड दिँदै शाहले पुराना दलहरूबाट सिक्नुपर्ने मुख्य पाठ गुटबन्दी नगर्नु रहेको बताए ।

“महाधिवेशनमा गुटबन्दी गर्ने प्रचलन रहेछ । तर यस्तो बिउ रोप्नु हुँदैन । पुराना दलका कमजोरीबाट सिक्नुपर्छ,” उनले भने ।

उनले रास्वपा विकासमुखी पार्टी भएको दाबी गर्दै वर्तमान कार्यकालमै सहकारी पीडित र सुकुम्बासी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए ।

“अर्को चुनावमा हामी यही एजेन्डा लिएर जाँदैनौँ । अहिलेका समस्या समाधान गरेर नयाँ एजेन्डासहित जनतामाझ जान्छौँ,” उनले भने ।

प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको सरकारलाई एकीकृत टोलीका रूपमा प्रस्तुत गर्दै पार्टी र सरकारबीच कुनै दूरी नरहेको बताए ।

“यो गठबन्धन सरकार होइन, एकल पार्टीको सरकार हो । सबै प्रधानमन्त्रीजस्तै जिम्मेवार छन् । सबै कार्यकर्ता र सरकार एउटै हुन् भन्ने अनुभूति गराउन चाहन्छु,” उनले भने ।

सम्बोधनको अन्त्यमा उनले महाधिवेशन अवधिभर पार्टीलाई बलियो बनाउने विषयमा केन्द्रित हुन आग्रह गर्दै भने, “तीन दिन पार्टीका विषयमा सोचौँ, त्यसपछि देशका विषयमा सोचौँ । पार्टी एकताबद्ध रहनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।”