विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारिएको खुलासा

विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारिएको खुलासा


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारिएको खुलेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार दिउँसो सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो । पक्राउ गर्नुअघि विभागले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको विभाग सम्बद्ध स्रोतले बताएको छ ।

छापा मार्दा प्रहरीले केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । पौडेलको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धानका क्रममा यो छापा र पक्राउ भएको विभागका उच्च स्रोतले अनलाइनखबरलाई बताएका छन् ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । कार्यक्रम स्थलमैबाट उनलाई पक्राउ गरी अहिले सुर्खेत जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई हवाई वा स्थलमार्गबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

एमालेले हाल देशभर पार्टी पुनर्गठनका लागि सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रममा सहभागी हुन पुगेका पौडेललाई विभागले नियन्त्रणमा लिएको हो ।  विभागले पौडेललाई काठमाडौं ल्याएपछि थप अनुसन्धान अघि बढाउने बताएको छ । यो घटनाले एमाले पार्टीभित्र चर्चा र चासो बढाएको छ ।