सरकारलाई सुकुम्बासीको चेतावनी – विकल्पविना होल्डिङ सेन्टरबाट हटाए पुरानै ठाउँमा फर्किन्छौं

सरकारलाई सुकुम्बासीको चेतावनी – विकल्पविना होल्डिङ सेन्टरबाट हटाए पुरानै ठाउँमा फर्किन्छौं


काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संगको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले स्थायी पुनर्स्थापनाको व्यवस्था नगरी आफूहरूलाई हटाउन खोजिए पुरानै बसोबास स्थलमा फर्किने चेतावनी दिएका छन् ।

संयुक्त रूपमा जारी गरिएको ‘पीडितहरूको पत्र’मा उनीहरूले सरकारसँग पटक–पटक गरिएको प्रतिबद्धता पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

क‍ेही समयअघि जबर्जस्ती उठिबास गराइएपछि अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिए पनि हालसम्म स्थायी बसोबासको कुनै ठोस व्यवस्था नभएको उनीहरूको भनाइ छ ।

सरकारले बस्ती हटाउँदा १५ दिन अस्थायी सेल्टरमा राखेर ६० दिनभित्र स्थायी व्यवस्थापन गर्ने आश्वासन दिएको थियो । तर, निर्धारित समय बितिसक्दा पनि पुनर्स्थापनाको प्रक्रिया अघि नबढेको उनीहरूको आरोप छ ।

उनीहरूले असार ९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको सूचनाप्रति पनि आपत्ति जनाएका छन् । उक्त सूचनामार्फत असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न र राहतस्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ लिएर आफ्नै व्यवस्थापन गर्न भनिएको उल्लेख गर्दै त्यसलाई सरकारको जिम्मेवारीबाट पन्छिने प्रयासको रूपमा चित्रण गरेका छन् ।

सुकुम्बासीहरूले सरकारसमक्ष पाँच बुँदे माग पनि अघि सारेका छन् । उनीहरूले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन र प्रमाणीकरणलाई तत्काल अघि बढाउन, जबर्जस्ती विस्थापित गरिएका परिवारलाई प्राथमिकतामा राखेर स्थायी समाधान गर्न तथा पुनर्स्थापना नभएसम्म होल्डिङ सेन्टरमै पर्याप्त सेवा–सुविधासहित बस्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

यस्तै, सरकारकै नीति र कार्यक्रमअनुसार उपयुक्त स्थानमा स्थायी व्यवस्थापन गर्न र विकल्प नदिई होल्डिङ सेन्टरबाट निष्कासन नगर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

पत्रमा सरकारसँगको सहमति र प्रतिबद्धता कार्यान्वयन नभएसम्म आफूहरू होल्डिङ सेन्टर नछाड्ने स्पष्ट पारिएको छ । यदि स्थायी विकल्प नदिई जबर्जस्ती हटाइएमा आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्केर बस्न बाध्य हुने चेतावनी पनि सुकुम्बासीहरूले दिएका छन् ।