महाधिवेशनको सहमति खोज्दै महामन्त्री घिमिरे इतरपक्षसंग संवादमा

महाधिवेशनको सहमति खोज्दै महामन्त्री घिमिरे इतरपक्षसंग संवादमा


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि इतर पक्षसँगको संवादलाई तीव्र बनाएको छ। संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरेले पछिल्लो समय इतर समूहका नेताहरूसँग भेटघाट बढाएका छन्। महामन्त्री घिमिरेले असार १२ गते विराटनगर पुगेर नेता शेखर कोइरालासँग भेटवार्ता गरेका थिए। त्यसपछि काठमाडौं फर्किएर उनले नेताहरू पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग पनि छलफल गरेका छन्।

भेटवार्ताका क्रममा पार्टीका आन्तरिक विषय समाधान गर्ने, महाधिवेशनमा सबै पक्षलाई सहभागी गराउने वातावरण बनाउने तथा दुवै पक्षका प्रस्तावमाथि छलफल गरी सहमतिको बाटो तय गर्ने विषयमा कुराकानी भएको घिमिरेले जानकारी दिए। उनले नेताहरूसँगको संवाद सकारात्मक रहेको बताए। पार्टीभित्र देखिएको विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको उनको भनाइ छ।

गत वैशाख ४ गते सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई वैधता दिएपछि कांग्रेस सभापति गगन थापाले संवाद प्रक्रिया अघि बढाएका थिए। त्यसपछि उपसभापति शर्माले पनि खड्का र सिटौलासँग छलफल गरेका थिए। तर शर्मासँगको संवादबाट सहमति जुट्न नसकेपछि इतर पक्ष छुट्टै महाधिवेशनको तयारीमा जुटेको नेताहरूले बताएका छन्।

संस्थापन पक्ष भने इतर समूहसँग एक पटक निर्णायक वार्ता गरेर विवाद टुंग्याउने तयारीमा रहेको बताइएको छ। पार्टीभित्र सहमति जुट्ने वा अलग बाटो तय हुने भन्ने विषय अबको संवादले निर्धारण गर्ने देखिएको छ।