भद्रपुर। नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा परियोजना अघि बढाइएको हो ।
पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार निर्माणका लागि प्रारम्भिक चरणमा मेचीनगर नगरपालिकाले रु दुई लाख उपलब्ध गराएको छ भने आवश्यक थप बजेट कार्यालयले व्यवस्थापन गरिसकेको छ ।
“चालु आर्थिक वर्षभित्रै विभिन्न संरचना निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ । यो संरचनाले पूर्वी नाकाको आकर्षण बढाउनुका साथै नेपाल प्रवेश गर्ने पर्यटकमा सकारात्मक पहिलो प्रभाव सिर्जना गर्नेछ । संरचना निर्माणपछि पर्यटक केही समय नाकामै रोकिने, तस्बिर खिच्ने, स्थानीय सेवा उपयोग गर्ने र यसबाट स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने अपेक्षा गरेका छौं,” प्रमुख खतिवडाले भन्नुभयो ।
करिब २०० मिटर क्षेत्रमा निर्माण भइरहेको उक्त संरचनाभित्र नेपालको मौलिक संस्कृति र राष्ट्रिय पहिचान झल्कने विभिन्न संरचना रहनेछन् । यहाँ ३२ वटा नेपाली झण्डा, पर्यटकका लागि आकर्षक ‘सेल्फी बुथ’ तथा रातको समयमा थप आकर्षण बढाउने ‘डिजिटल लाइटिङ’को व्यवस्था गरिनेछ । निर्माणका लागि हाल सो क्षेत्रमा रहेका ठूला विज्ञापन बोर्डहरू अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।
निर्माणस्थलको नेतृत्व गरिरहेका स्थानीय पर्यटन व्यवसायी रामबहादुर तामाङले यो पूर्वी नाकाको दीर्घकालीन आवश्यकता भएको बताउनुभयो । उहाँले स्थानीय समुदायको आर्थिक सहयोग र श्रमदानसमेत भएकाले परियोजनाप्रति अपनत्व बढ्ने र यसको दिगोपना सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।
“लामो समयदेखि सीमामा आकर्षक पर्यटकीय संरचना आवश्यक रहेको आवाज उठाउँदै आएका थियौँ । अहिले त्यो आवश्यकता पूरा हुने चरणमा पुगेको छ । संरचना निर्माण सम्पन्न भएपछि काँकडभिट्टा प्रवेश गर्नेबित्तिकै पर्यटकले नेपाल आएको फरक र सुखद अनुभूति गर्नेछन्,” उहाँले भन्नुभयो ।
यससँगै पर्यटन कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर सीमा पर्यटन, पर्या–पर्यटन, फोटो प्रदर्शनी, होमस्टे प्रवद्र्धन तथा होटल र ट्राभल एजेन्सीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
पूर्वी नाका हुँदै प्रत्येक वर्ष हजारौँ विदेशी पर्यटक नेपाल भित्रिने गरेका छन् निर्माणाधीन नयाँ पर्यटकीय संरचनाले काँकडभिट्टाको स्वरूप परिवर्तन गर्नुका साथै पूर्वी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया