काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत सह–आयोजक अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। एक खेलाडी कम भएर पनि अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणको यात्रा जारी राखेको हो।
अमेरिकाको जितमा फोलारिन बालोगन र मालिक टिलम्यानले एक–एक गोल गरे। बालोगनले पहिलो हाफमा गोल गरे पनि दोस्रो हाफमा रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो।
खेलको ४५औँ मिनेटमा टिम रिमले मध्यभागमा विपक्षीको गोलकिक रोकेपछि मालिक टिलम्यानको पासमा बालोगनले बायाँ खुट्टाले सुन्दर गोल गर्दै अमेरिकालाई अग्रता दिलाए। यो विश्वकपमा उनको तेस्रो गोल थियो।
तर ६४औँ मिनेटमा तारिक मुहरेमोभिचमाथि फाउल गरेपछि बालोगनले रातो कार्ड पाए र अमेरिका बाँकी समय १० खेलाडीमा खेल्न बाध्य बन्यो।
संख्यात्मक रूपमा कमजोर बने पनि अमेरिकाले दबाब झेल्दै खेल नियन्त्रणमा राख्यो। ८२औँ मिनेटमा बक्सबाहिरबाट प्राप्त फ्रिकिकमा टिलम्यानले प्रहार गरेको बल गोलकिपर निकोला भासिल्जको हातमा लाग्दै जाली चुमेपछि अमेरिकाले २–० को सुरक्षित अग्रता बनायो। यस जितसँगै अमेरिकाले अन्तिम १६ मा सोमबार सिएटलमा बेल्जियमको सामना गर्नेछ।
विश्वकप इतिहासमा अमेरिकाको नकआउट चरणमा यो केवल दोस्रो जित हो। सन् २००२ मा मेक्सिकोलाई हराउँदै अन्तिम १६ पार गरेको अमेरिकाले त्यसपछि पहिलो पटक नकआउट चरणमा विजय हासिल गरेको हो।
बालोगन खेलभरि अमेरिकाका सबैभन्दा खतरनाक खेलाडी बने। उनले एक गोल अफसाइडका कारण गुमाए भने अन्य केही अवसरमा पनि गोलको नजिक पुगेका थिए।
उनको विश्वकपमा गोल संख्या तीन पुगेको छ। अब उनी सन् १९३० मा बर्ट प्याटेनाउडले एकै विश्वकपमा अमेरिकाका लागि बनाएको चार गोलको कीर्तिमानभन्दा केवल एक गोलले पछाडि छन्।
गोल गरेपछि बालोगनले प्रसिद्ध बास्केटबल खेलाडी लेब्रोन जेम्सको ‘साइलेन्सर’ शैलीमा उत्सव मनाएका थिए, जसले सामाजिक सञ्जालमा पनि चर्चा बटुल्यो।
बोस्निया–हर्जगोभिनाले भने दोस्रो विश्वकप सहभागितामै नकआउट चरण पुगेर सकारात्मक छाप छोड्यो। समूह चरणमा क्यानडासँग बराबरी र कतारमाथि जित निकाल्दै टोली पहिलो पटक नकआउट चरणमा पुगेको थियो।
तर अमेरिकाविरुद्धको हारसँगै बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा अन्त्य भएको छ।

प्रतिक्रिया