२ डाक्टरमाथि कुटपिट गर्ने २ महिला पक्राउ

२ डाक्टरमाथि कुटपिट गर्ने २ महिला पक्राउ


काठमाडौं ।

डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार २ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा–१२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् ।

उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले भने, ‘अहिलेसम्म चिकित्सकहरुले जाहेरी दिएका छैनन्, घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरीलाई पक्राउ गरिएको हो ।’

एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो ।

एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगु पोजेटिभ देखिएको थियो ।

सञ्चो अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधानलाई घर पठाइएको थियो । तर केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । उनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।