काठमाडौं । श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले थापा र आचार्यलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरूलाई कारागार पठाउने प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
नेपाली सेनामा सुवेदार पदमा कार्यरत आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा प्रहरीले कुमार थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
यस प्रकरणमा नुवाकोटका ३८ वर्षीय कुमार थापा, उनकी प्रेमिका जुम्लाकी २५ वर्षीया प्रतीक्षा आचार्य, थापाका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्रीलाई पक्राउ गरिएको थियो।
अदालतले भने विक्रम थापा मगर र पुजन थापा क्षेत्रीलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
प्रहरीले कुमार थापाविरुद्ध श्रीमती हत्याको आरोपमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७(१) अन्तर्गत मुद्दा दर्ता गरेको छ। यस्तै, प्रतीक्षा आचार्य, विक्रम थापा मगर र पुजन थापा क्षेत्रीविरुद्ध उक्त कसुर गर्न दुरुत्साहन गरेको आरोपमा सोही दफाअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
प्रहरीको अनुसन्धानअनुसार लामो समयदेखिको पारिवारिक कलह र विवाहेत्तर सम्बन्धका कारण घटना भएको प्रारम्भिक निष्कर्ष छ। प्रहरीका अनुसार सेनामा कार्यरत रहँदाकै प्रेम सम्बन्धपछि भएको विवाहमा समयसँगै विभिन्न उतारचढाव, मुद्दा–मामिला तथा विवाहेत्तर सम्बन्धका कारण विवाद चर्किँदै जाँदा अन्ततः हत्या भएको देखिएको छ।

प्रतिक्रिया