काठमाडौं । संवैधानिक परिषद् बैठक आज बस्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने भएको हाे । बैठकमा संवैधानिक निकायकाे रिक्त पदहरूमा नियुक्ति सिफारिससम्बन्धी छलफल हुने प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छ ।
थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद रिक्त छन् । महिला आयोगमा एक सदस्य पद खाली छ ।
यसअघि बालेन सरकारले पहिलोपटक संवैधानिक परिषद्को बैठक बोलाउँदा निर्णयहरू सर्वसम्मत हुन सकेका थिएनन् । प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया