ओलीको टिप्पणी- अरुको हितभन्दा आफ्नो लाभ मात्रै खोज्ने मानसिकताले विकासमा बाधा भयो

ओलीको टिप्पणी- अरुको हितभन्दा आफ्नो लाभ मात्रै खोज्ने मानसिकताले विकासमा बाधा भयो


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले समृद्ध नेपाल र सुखी नेपाली बनाउन चाहेको बताएका छन् ।

शनिबार बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि संघर्ष, मिहिनेत र त्याग आवश्यक रहेको बताएका हुन् । उनले कुनै पनि राष्ट्र बिना मिहिनेत, जोखिम र मूल्य चुकाई समृद्ध बन्न नसक्ने दाबी गरे ।

‘समृद्ध नेपाल र सुखी नेपाली बनाउन केही नगरी सबै कुरा आफैं हुन्छ भन्ने सोच राखेर समृद्धि हासिल गर्न सकिँदैन,’ उनले भने, ‘त्यस्तो नेपाल बनाउन चाहनेले केही पसिना नबगाई, दुःख नगरी, जोखिम नमोली हुँदैन । केही नगरी आफैँ सबै कुरा हुँदैन, पर्खनुपर्छ । भगवान्‌ले सबै आफैं गरिदिन्छन् भन्ने हो भने केही कुरा प्राप्त गर्न सक्दैनौं ।’

समाजमा शान्ति, समृद्धि र आधुनिक विकास प्राप्त नहुने बताउँदै उनले त्यसका लागि निरन्तर परिश्रम, समर्पण र संघर्ष आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले समृद्ध र समानतामूलक समाज निर्माणको यात्रामा विभिन्न अवरोध गर्ने प्रवृत्तिहरू सक्रिय रहेको दाबी गरे ।

व्यक्तिगत स्वार्थलाई मात्रै प्राथमिकता दिने, अरूको हितभन्दा आफ्नो लाभ मात्रै खोज्ने मानसिकताले विकास र सामाजिक रूपान्तरणमा बाधा पुर्‍याएको बताए ।

उनले यस्ता प्रवृत्तिमा अहंकार, निर्ममता, धोका र षड्यन्त्रजस्ता मात्र देखिएको बताए ।