चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले जंगली हात्ती ध्रुवेका बारेमा नसुन्ने कमै होलान् । त्यही हिंस्रक ध्रुवेले फेरि चितवनको भरतपुर महानगरपालिका वडा नं। २३ मा आमाछोराको ज्यान लिएको पुष्टि भएको छ । आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ ।
शनिबार राति घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । हात्ती धपाउन आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घर नै जलेर नस्टसमेत भएको छ । भरतपुर महानगरपालिका वडानम्बर २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार जंगली हात्तीले घरमै आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो।
यो घटनासँग ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै ९ वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो । धेरै जसो निकुञ्जको सुखीभार क्षेत्रमा नै रहने यो हात्ती अचानक बस्तीतिर निस्केको थियो । कहिले मेघौलीतिरसमेत निस्कने गरेको स्थानीयहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया