काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने म्याद साउन ३ गतेसम्म थप गरेको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले यससम्बन्धी निर्णय गरेको हो।
यसअघि क्रियाशील सदस्यता फाराम वितरण, नवीकरण तथा नयाँ सदस्यताको विवरण केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने अन्तिम म्याद असार २० गते तोकिएको थियो। तर वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया पूरा हुन नसकेको, साथै नयाँ सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्य जारी रहेको भन्दै म्याद थप गरिएको जनाइएको छ।
बैठकले सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूबाट प्राप्त सुझावका आधारमा सदस्यता वितरण र विवरण प्रविष्ट गर्ने अवधि २०८३ साउन ३ गतेसम्म कायम गर्ने निर्णय गरेको छ।
त्यस्तै, क्रियाशील सदस्यता अद्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने निर्णय पनि गरिएको छ।
समितिले प्राप्त सिफारिसका आधारमा क्रियाशील सदस्यता अद्यावधिक तथा आवश्यक व्यवस्थापन गर्ने जनाएको छ।

प्रतिक्रिया