काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको एक खेलको प्रतिबन्ध निलम्बन गरिएको दाबी सार्वजनिक भएपछि विश्व फुटबलमा नयाँ विवाद उत्पन्न भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका बालोगुन बेल्जियमविरुद्धको अन्तिम १६ को खेल गुमाउने अवस्थामा थिए। तर ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी निर्णय पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले उनको प्रतिबन्ध तत्कालका लागि निलम्बन गरेको बताइएको छ।
फिफाले जारी गरेको विज्ञप्तिअनुसार अनुशासन संहिताको धारा २७ बमोजिम बालोगुनको एक खेलको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिसम्मका लागि निलम्बन गरिएको छ। सो अवधिमा उनले पुनः यस्तै प्रकृतिको गम्भीर अनुशासनहीनता दोहोर्याएमा अहिले रोकिएको प्रतिबन्ध स्वतः लागू हुने फिफाले जनाएको छ।निर्णयपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत फिफालाई धन्यवाद दिएका छन्। उनले सही निर्णय गर्दै ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवादू भन्दै प्रतिक्रिया जनाएका छन्। ह्वाइट हाउसले पनि उक्त निर्णयप्रति खुशी व्यक्त गरेको बताइएको छ।
यससँगै बालोगुन सोमबार हुने बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न पाउने भएका छन्। अमेरिकी टोलीका कप्तान क्रिस्टियन पुलिसिकले बालोगुन उपलब्ध हुने खबरले टोलीमा उत्साह थपिएको बताएका छन्। प्रतियोगितामा तीन गोल गरिसकेका बालोगुन अमेरिकाका प्रमुख खेलाडीमध्ये एक मानिन्छन्।बालोगुनले बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा गोल गरे पनि दोस्रो हाफमा तारिक मुहरेमोभिचको खुट्टामा बुटले प्रहार गरेको घटनापछि भिडियो सहायक रेफ्री (भीएआर)को समीक्षा हुँदै सिधा रातो कार्ड पाएका थिए।
अमेरिकी टोलीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले पनि निर्णयको बचाउ गर्दै अधिकांश फुटबल समर्थकले प्रारम्भिक सजाय अन्यायपूर्ण ठानेको बताएका छन्। विगतमा पनि यस्ता केही प्रतिबन्ध निलम्बन भएका उदाहरण रहेकाले यसलाई असामान्य रूपमा लिन नहुने उनको भनाइ छ।
यद्यपि फिफाको निर्णयले विवाद पनि निम्त्याएको छ। रोयल बेल्जियम फुटबल एसोसिएसनले निर्णयप्रति आश्चर्य व्यक्त गर्दै यसले नियमको उल्लंघन गरेको दाबी गरेको छ। बेल्जियमले कानुनी विकल्पबारे समेत अध्ययन गरिरहेको जनाएको छ। सामान्यतया विश्वकपमा रातो कार्डविरुद्ध अपिल गर्ने व्यवस्था नरहेको र यसअघि अन्य खेलाडीले प्रतिबन्ध भोग्नुपरेको अवस्थामा अमेरिकाको हकमा मात्रै नियम फरक ढंगले लागू गरिएको भन्दै आलोचना भइरहेको छ। यद्यपि फिफाले अनुशासन समितिलाई सजायको कार्यान्वयन पूर्ण वा आंशिक रूपमा निलम्बन गर्ने अधिकार रहेको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ।

प्रतिक्रिया