ट्रम्पको घोषणा – इरानसँगको युद्धविराम समाप्त

ट्रम्पको घोषणा – इरानसँगको युद्धविराम समाप्त


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गरेका छन् ।

इरानले विश्वको महत्वपूर्ण जलमार्ग हर्मुजमा जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि दुई देशबीच पुनः युद्ध चर्किएको हो ।

टर्कीमा बुधबार आयोजित नेटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले युद्धविराम अब अर्थहीन भएको बताए । “मेरो हिसाबले युद्धविराम समाप्त भइसकेको छ । उनीहरूसँग व्यवहार गर्नु समयको बर्बादी मात्र हो,” ट्रम्पले भने ।

उनले थपे, “हाम्रा उत्कृष्ट वार्ताकारहरूले चाहे वार्ता जारी राखून्, तर मलाई त्यसबाट कुनै परिणाम निस्कन्छ जस्तो लाग्दैन । मलाई यी मानिसहरू मन पर्दैन ।”

ट्रम्पको उक्त अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले उकालो लागेको छ ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्वमा हर्मुज जलडमरूमध्य अहिले सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ । इरानले यो जलमार्गमाथि आफ्नो नियन्त्रण रहने दाबी गर्दै त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने र आफूले तोकेको मार्ग नअपनाउने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएको छ ।

हालैका दिनमा इरानी सेनाले कम्तीमा तीनवटा जहाजमाथि आक्रमण गरेको अमेरिकी दाबी छ । त्यसको जवाफमा मंगलबार अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमाथि व्यापक आक्रमण गरेको थियो । त्यसपछि इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको जनाएको छ ।

इरानमा विस्फोटको श्रृंखला

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बुधबार हर्मुज क्षेत्र आसपासका विभिन्न स्थानमा विस्फोट भएका छन् ।

कश्म टापुमा छ, सिरिक शहरमा सात तथा प्रमुख बन्दरगाह बन्दर अब्बासमा पनि विस्फोट भएको जनाइएको छ । त्यसपछि बुशेहर बन्दरगाह क्षेत्रमा समेत विस्फोट भएका छन् । यही क्षेत्रमा इरानको एकमात्र नागरिक परमाणु ऊर्जा केन्द्र रहेको छ भने खार्ग टापुमार्फत देशको करिब ९० प्रतिशत कच्चा तेल निर्यात हुने गर्छ ।

इरानले दक्षिणपश्चिम क्षेत्रमा इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का एक सदस्य मारिएको जनाएको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आफ्ना सेनाले इरानका ८० भन्दा बढी सैन्य संरचनामाथि आक्रमण गरेको जनाएको छ । ती आक्रमणमा हवाई प्रतिरक्षा प्रणाली, तटीय रडार केन्द्र तथा आईआरजीसीका करिब ६० साना युद्धपोतलाई निशाना बनाइएको सेन्टकमले जनाएको छ ।

अमेरिकाका अनुसार यी कारबाहीको उद्देश्य अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गमा भइरहेका इरानी आक्रमण रोक्ने क्षमता कमजोर बनाउनु हो ।

इरानी रिभोलुसनरी गार्ड्सले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । बहराइन र कुवेतले आफ्ना हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको पुष्टि गरेका छन्, तर क्षतिको विवरण सार्वजनिक गरेका छैनन् ।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले अमेरिकामाथि दुई देशबीच भएको समझदारी उल्लंघन गरेको आरोप लगाएका छन् । उनले अमेरिका पुनः तेलमाथिका प्रतिबन्ध लागू गर्नुका साथै हर्मुज जलडमरूमध्यसम्बन्धी सहमतिविपरीत कदम चालेको दाबी गरे ।

यसैबीच अमेरिकी अर्थ मन्त्रालयले जुन महिनामा दिइएको अस्थायी अनुमति रद्द गर्दै इरानलाई कच्चा तेल उत्पादन, बिक्री र निर्यात गर्न दिइएको छुट फिर्ता लिएको छ । यसअघि उक्त अनुमति अगस्ट २१ सम्मका लागि दिइएको थियो ।

अमेरिकी प्रशासनका एक अधिकारीले इरानको व्यवहार अस्वीकार्य भएको भन्दै त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

जहाजमाथि आक्रमण

बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार मंगलबार हर्मुज नजिक एउटा ट्यांकरमा अज्ञात प्रक्षेप्यास्त्र प्रहार हुँदा आगलागी भएको थियो । त्यसपछि थप दुई जहाज पनि आक्रमणमा परेका थिए, जसमध्ये कम्तीमा एउटा ड्रोनबाट आक्रमण गरिएको थियो ।

सेन्टकमका अनुसार आक्रमणमा परेका जहाजहरू मार्शल टापुमा दर्ता भएको अल रेकायात, साउदी अरेबियाको झण्डा बोकेको वेद्यान र लाइबेरियामा दर्ता भएको साइप्रस प्रोस्पेरिटी हुन् । यी सबै जहाज ओमानको समुद्री क्षेत्र नजिक आक्रमणमा परेका थिए । ओमानले आफ्नो तटीय क्षेत्र हुँदै सुरक्षित वैकल्पिक समुद्री मार्ग प्रस्ताव गरेको भए पनि इरानले त्यसको विरोध गर्दै आएको छ ।

कतारले आफ्नै स्वामित्वको अल रेकायात जहाजमाथिको आक्रमणको कडा निन्दा गर्दै इरानका उपराजदूतलाई बोलाएर विरोध जनाएको छ । इरानले भने कतारका आरोपहरू अस्वीकार्य भएको जनाएको छ ।

शुल्क प्रणालीको संकेत

लन्डनस्थित किङ्स कलेजका सुरक्षा विज्ञ एन्ड्रियास क्रिगका अनुसार अहिले इरानले प्रस्ताव गरेको जहाज शुल्क प्रणालीको विकल्प खोज्ने प्रयास भइरहेको छ ।

उनका अनुसार, “इरानले स्पष्ट सन्देश दिएको छ – हर्मुज जलडमरूमध्यमा आफूले प्रस्ताव गरेको शुल्क प्रणालीको विकल्प उसलाई स्वीकार्य हुने छैन ।”

गत महिना अमेरिका र इरानबीच समझदारी भएपछि केही समय समुद्री यातायात सामान्य बन्दै गएको थियो । तर इरानले युद्धअघिको जस्तो स्वतन्त्र आवागमन अब सम्भव नहुने स्पष्ट पारेको छ ।

अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीअनुसार हर्मुज जलडमरूमध्यको भविष्यको प्रशासन र समुद्री सेवाबारे इरान, ओमान तथा अन्य खाडी राष्ट्रबीच थप वार्ता गर्ने सहमति भएको छ ।