२७ मुक्तकमैयाले पाए नयाँ पक्की घर

२७ मुक्तकमैयाले पाए नयाँ पक्की घर


कैलाली ।

कैलालीको कैलारी गाउँपालिका– ७ विपतपुरका मुक्तकमैया खुसीले दंग भएका छन् । यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन् ।

आगलागीबाट घर नष्ट भएपछि १ वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन् ।

विस् २०७९ को वैशाख ११ गते भएको आगलागीबाट विपतपुरका २७ घर जलेर नष्ट भएका थिए । नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसोे बस्तीमा सल्केको थियो । सुदूरपश्चिम प्रदेश सरकार र हेबिटेट नेपालले साझेदारीमा घर निर्माण गरी मुक्तकमैया परिवारलाई हस्तान्तरण गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका भूमि स्रोत नक्शांकन महाशाखाका नापी अधिकृत धर्मराज ओझाले जानकारी दिए ।

प्रदेश सरकारको ९० लाख, हेबिटेट नेपालको ५४ लाख र समुदायको ३८ लाख ७८ हजारको श्रमदान गरी १ करोड ८२ लाख ७८ हजारको लागतमा ती घर निर्माण गरिएको उनले बताए । पक्की भवनमा सीएसइबी इन्टरलकिंग ब्लक प्रयोग गरिएको छ । भवनसंहिता अनुसार घर निर्माण गरिएको हेबिटेट नेपालको पश्चिम फिल्ड कार्यालय प्रमुख पुनिता चौधरीले बताए ।

अधिकृत ओझाका अनुसार हालसम्म मन्त्रालय र हेबिटेटको साझेदारीमा अहिलेसम्म सुदूरपश्चिममा ८४ घर निर्माण भइसकेका छन् । कैलालीको भजनी नगरपालिकामा राजी समुदायका २५, विपदपुरमा मुक्तकमैयाका २७, कञ्चनपुरको बेदकोट नगरपालिकाकामा भूमिहीन, दलित, मुक्तकमैयाका २५ र डोटीमा मुक्तहलियाका सात घर निर्माण भएका छन् ।

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले प्रदेशमा रहेका भूमिहीन, सुकम्बासी, मुक्तकमैया, हरुवाचरुवाको जग्गा र बसोवासको व्यवस्थापन गर्न प्रदेश सरकार लागिपर्ने बताए ।