काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियानको विरोध गर्दै आएका निवर्तमान उपसभापति पुर्णवहादुर खड्काको गृह जिल्लाका प्रभावशाली नेताहरुले आजदेखि धमाधम अद्यावधिक गर्न थालेका छन् ।
निवर्तमान उपसभापति खड्काको दवावमा अहिलेसम्म सदस्यता अद्यावधिक नगरेका सुर्खेतका केही नेता तथा कार्यकर्ताहरु अब भने अद्यावधिक गराउने निर्णयमा पुगेका हुन् ।
अद्यावधिक नगरेका जिल्ला सभापतिकै अध्यक्षतामा बसेको बैठकले सबैलाई अद्यावधिकका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले सबै पालिकामा अद्यावधिकका लागि स्थानीय प्रतिनिधिहरुलाई समेत खटाएको छ भने उनीहरुलाई अद्यावधिकका बारेमा प्रशिक्षणसमेत दिइएको थियो ।
आज खड्काका अति विश्वासपात्र मानिने नेपाली कांग्रेस सुर्खेतका सभापति खड्गबहादुर पोखरेलले सदस्यता अद्यावधिक गरेको अद्यावधिक अभियानका लागि खटिएका कांग्रेसका केन्द्रीय प्रतिनिधि लेखनाथ पोखरेलले जानकारी दिए ।
जिल्ला सभापतिले नै अद्यावधिक गरेर जिल्लाका सबै कार्यकर्ताहरुलाई अद्यावधिक गराउने अभियान सुरु गरेको उनले बताए । सदस्यता अद्यावधिक अभियानका लागि आगामी २७ गतेसम्म म्याद थप्न पनि नेपाली कांग्रेस सुर्खेतले समय माग गरेको छ । पार्टीका जिल्ला सचिवद्वय देवकुमार सुवेदी र बालदिप कँडेलले केन्द्रीय कार्यालयलाई संयुक्त निवेदन लेख्दै अद्यावधिकको समय २७ गतेसम्म थप गर्न माग गरेका हुन् ।
जिल्लामा रहेर सक्रिय राजनीति गर्दै आका पार्टीका कर्णाली प्रदेश महामन्त्री निरन्जन केसी, कोषाध्यक्ष खगिसरा आचार्यलगायतका दर्जनौ नेता कार्यकर्ताहरुले पनि आज अद्यावधिक गरेको केन्द्रीय प्रतिनिधि पोखरेलले बताए ।
सुर्खेतमा सभापति गगनकुमार थापा तथा नेता डा. शेखर कोइराला निकट नेता कार्यकर्ताहरुले यसअघि नै अद्यावधिक गरे पनि खड्कानिकट नेता कार्यकर्ताहरुले अद्यावधिक गरेका थिएनन् ।

प्रतिक्रिया