गणेश नेपालीको घटनालाई राजनीतिकरण नगर्न गगन थापाको आग्रह

गणेश नेपालीको घटनालाई राजनीतिकरण नगर्न गगन थापाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले गणेश नेपालीको घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले यो घटना समाज, राज्य र समग्र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको बताएका छन् ।

थापाले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, सबैलाई परिवारको दुःखमा साथ दिन र सक्दो सहयोग गर्न अपिल गरेका छन् ।

उनले गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभई एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएको बताएका छन् ।

थापाले विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने धारणा राखेका छन् ।

उनले समाज र राज्यले केही गम्भिर प्रश्नको इमानदार जवाफ खोज्नुपर्ने आवश्यकता औँल्याउँदै, ‘एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?’ भन्ने प्रश्न उठाएका छन् ।

भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ ।