गणेश नेपाली मृत्यु : पाँच सदस्यीय छानबिन समिति गठन, तीन नगर प्रहरी पक्राउ

गणेश नेपाली मृत्यु : पाँच सदस्यीय छानबिन समिति गठन, तीन नगर प्रहरी पक्राउ


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको मृत्युबारे छानबिन अघि बढाइएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै गृहमन्त्री गुरुङले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए । समितिलाई घटनाको सम्पूर्ण पक्षको अध्ययन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिए ।

गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित तीन जना काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने उनले संसद्लाई आश्वस्त पारे ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि उत्पन्न विवादका क्रममा मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि देशभर व्यापक जनचासो बढेको छ । संसद्‌मा पनि सांसदहरूले घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय तथा जिम्मेवार पक्षमाथि कडा कारबाहीको माग गरेका छन् ।