र्कितिपुर होल्डिङ सेन्टर डुब्दा सुकुमवासीको बिचल्ली

र्कितिपुर होल्डिङ सेन्टर डुब्दा सुकुमवासीको बिचल्ली


काठमाडौँ । अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबाउँदा सुकुमबासी विस्थापितहरूको बिचल्ली भएको छ । शुक्रबार राति साढे १२ बजेतिर अचानक पानी पसेपछि उनीहरू सामानसमेत निकाल्न नपाई भाग्न बाध्य भए ।

बैशाख १२ गते थापाथली र शान्तिनगरबाट विस्थापित भएर यहाँ टेन्टमा बस्दै आएका सुकुमबासीहरूका लागि यो होल्डिङ सेन्टर बाढीबाट जोगिने ठाउँ बन्नुपर्ने थियो । तर बाढीले यहाँ पनि ठूलो क्षति पुर्‍यायो ।

४ वर्षीया छोरीको हात समातेर बाहिर निस्किएकी गायत्री श्रेष्ठले भनिन्, “जुत्ता, लुगा, किताब केही निकाल्न पाइएन । सबै डुब्यो ।” उनको छोरी खाली खुट्टामै चिसो भुइँमा उभिएको थियो ।

१२ वर्षअघि मुटुको अप्रेसन गराएकी सावित्रीले औषधि र कागजात डुबेकोमा चिन्ता व्यक्त गरिन् । अर्की विस्थापित कमली उराउँले भनिन्, “सरकारले यहाँ ल्याएर बाढीबाट जोगाउँछु भन्थ्यो, तर यहाँको बाढी त्यहाँभन्दा ठूलो भयो ।”

५१ वर्षीया कमला राईले प्रेसर, थाइराइड र कोलेस्टेरोलको औषधि डुबेको बताउँदै निराशा व्यक्त गरिन् । “बिहानै खानुपर्ने औषधि छैन, पिउने पानी पनि छैन,” उनले दुःख पोखिन् ।

३० वर्षीया उपमा मगरले रातको कहालीलाग्दो क्षण सम्झिँदै भनिन्, “कुर्कुच्चाबाट घुँडामाथि पानी चढ्यो । बालबालिकालाई बचाएर बाहिर निस्कियौँ ।” कक्षा ५ मा पढ्ने रिजन लामाले नयाँ किताब र ड्रेस सबै डुबेकोमा रुन्चे स्वरमा पीडा व्यक्त गरे ।

सुरक्षाकर्मीहरू बिहान डुङ्गामा आएर सामान खोज्न थाले पनि धेरै विस्थापितहरूको सामान र औषधि पानीमा बगिसकेको छ । ओड्ने–ओछ्याउने, लुगाफाटा र खानेपानीको अभावमा उनीहरूको बिचल्ली बढेको छ ।

बाढीले विस्थापित सुकुमबासीहरूको दैनिकी थप कष्टकर बनाएको छ ।