कोरला नाकासम्मको सडक स्तरोन्नतिमा ठेक्का आह्वान

कोरला नाकासम्मको सडक स्तरोन्नतिमा ठेक्का आह्वान


उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले छुसाङ–घमी सडक खण्डको स्तरोन्नति तथा कालोपत्रका लागि बहुवर्षीय ठेक्का आह्वान गरेको छ ।

आयोजनाले शुक्रबार सूचना प्रकाशित गर्दै उक्त सडकलाई दुई प्याकेजमा ठेक्का आह्वान गरेको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार छुसाङदेखि भेनासम्मको २०.१ किलोमिटर (पहिलो खण्ड) र भेनादेखि घमीसम्मको २०.१ किलोमिटर (दोस्रो खण्ड) सडक स्तरोन्नति तथा कालोपत्र गरिने छ ।पहिलो खण्डका लागि एक अर्बभन्दा बढी र दोस्रो खण्डका लागि करिब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कात्तिक महिनाभित्र ठेक्का सम्झौता गरी तिहारपछि काम सुरु गर्ने लक्ष्य रहेको आयोजना प्रमुख शर्माले बताए ।

यसअघि गत वैशाखमा अर्थ मन्त्रालयले यो खण्डका लागि रु तीन अर्ब १५ करोड बजेट सुनिश्चित गरेको थियो ।  कोरला नाकालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । नाका पूर्ण सञ्चालनमा आएपछि भन्सार राजस्वमा उल्लेख्य वृद्धि भएको छ । सडक स्तरोन्नति भएमा उपल्लो मुस्ताङको व्यापार, पर्यटन र स्थानीय आवागमनमा ठूलो सुधार हुने अपेक्षा गरिएको छ ।