आफ्नो घर माथिको कान्लाे पन्छाउन पनि अनुदान माग्छन् : नगर प्रमुख

आफ्नो घर माथिको कान्लाे पन्छाउन पनि अनुदान माग्छन् : नगर प्रमुख


रामेछाप ।

नेपाली समाजमा हराउँदै गएको श्रमदान संस्कृतिलाई स्थानीय तहका जनप्रतिनिधिहरू पुन जगाउने प्रयत्न गर्दै छन् ।

विगतमा श्रमदानबाट समुदायमा धेरै काम हुने गरेका भए पनि अहिले श्रम संस्कृति मर्दै गएको छ । मानिसहरू सामाजिक काममा मात्र होइन आफ्नै काममा समेत सरकारी अनुदान र सहयोग माग्न धाउने क्रम बढ्दै गएको छ ।

‘आफ्नो घर माथिबाट खसेको काल्नो पन्छाउन पनि अनुदान र सहयोग माग्ने आउने क्रम बढेको छ’, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ पछिल्लो अवस्था सुनाउँदै भन्छन् ।

विगतमा व्यक्तिगत काम मात्र होइन सार्वजनिक कामहरू बाटो मर्मत गर्ने, चौतारो बनाउने, रुख रोप्ने, धारा–पँधेरा बनाउने, पोखरी खन्ने, कुलो मर्मत गर्ने काममा गाउँलेहरू श्रमदानमा जुट्ने गर्दथे । व्यक्तिलाई समस्या र्पयो भने वा व्यक्तिका घर बनाउँदा निदाल बोक्ने, तलो छाप्ने, विवाह, व्रतबन्ध जस्ता भोजहरूमा पनि छिमेकीले निःशुल्क श्रमदान गर्दथे । तर अहिले हरेक काममा अनुदान र सहयोग खोज्ने र त्यसबाट समेत नाफा कमाउने प्रचलन बढ्दै गएको छ ।

स्थानीय तहले उपभोक्ता समिति मार्फत गर्ने कामको उपभोक्ता समितिमा बस्न हारालुछ हुने गरेको छ । उपभोक्ता समितिमा बसेर काम गर्दा केही नाफा कमाउन सकिन्छ भन्ने धारणा विकास हुँदै गएको छ ।