कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठको उपचारका क्रममा निधन भएको छ । उनी केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले उपचारको क्रममा श्रेष्ठको मंगलबार निधन भएको जानकारी दिए ।

पछिल्लो समय पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । उनको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उनी करिब एक वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए ।

कांग्रेसले हालै श्रेष्ठलाई पार्टीमा पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो । यसअघि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत भएका थिए ।

श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिने कार्यक्रम तय गरिएको छ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने तयारी गरिएको छ ।

राजनीतिक जीवनमा श्रेष्ठ स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले भौतिक योजना, वन, उद्योग तथा शिक्षामन्त्रीलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले विभिन्न समयमा गरी करिब पाँच वर्ष जेल जीवनसमेत बिताएका थिए ।