काठमाडौं । केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको शानदार गोल सन् २०२६ फिफा विश्वकपको उत्कृष्ट गोल (गोल अफ द टुर्नामेन्ट) घोषित भएको छ ।
फिफाले सार्वजनिक मतदानका आधारमा प्रतियोगिताभर भएका ३०८ गोलमध्ये काब्रालको गोललाई उत्कृष्ट घोषित गरेको हो । उनी विश्वकपको यो पुरस्कार जित्ने पहिलो अफ्रिकी खेलाडी बनेका छन् ।
अन्तिम–३२ को खेलमा साविक विजेता अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा केप भर्डे २–१ ले पछि परेको अवस्थामा बायाँ डिफेन्डरको भूमिकाबाट माथि उक्लिएका काब्रालले विपक्षी पेनाल्टी क्षेत्रको बायाँ किनारमा बल पाए । उनले अर्जेन्टिनाका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई छलाउँदै दायाँ खुट्टाले प्रहार गरेको घुमाउरो बल गोलकिपर एमिलियानो मार्टिनेजलाई झुक्याउँदै पोस्टको माथिल्लो कुनामा पुगेको थियो ।
उनको त्यो गोलले खेल २–२ को बराबरीमा ल्याएको थियो । यद्यपि, अतिरिक्त समयको १११औँ मिनेटमा आफ्नै खेलाडी डिनेयको आत्मघाती गोलपछि केप भर्डे ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उक्त खेलमा रेफ्रीले अर्जेन्टिनालाई ‘विशेष’ व्यवहार गरेको भन्दै आलोचनासमेत भएको थियो ।
फिफाले उत्कृष्ट गोल छनोटका लागि १२ गोलको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक मतदानमा काब्रालको गोलले उज्बेकिस्तानका एल्डोर शोमुरोदोभले कंगोविरुद्ध गरेको लोब गोल र हैटीका विल्सन इसिडोरले मोरक्कोविरुद्ध गरेको शक्तिशाली प्रहारलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो ।

प्रतिक्रिया