प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन

प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन


काठमाडौं । संघीय संसद्‌अन्तर्गतको संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्की तथा आयुक्त पदका लागि प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद्‌बाट सिफारिस भएका तीनै जनाको नाम अनुमोदन गरेको हो । वाग्ले र सुब्बाको संसदीय सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीको सुनुवाइ बुधबार भएको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले सङ्घीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम (५) बमोजिम तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको घोषणा गरे ।

समितिले अनुमोदनसँगै प्रस्तावित पदाधिकारीहरूले सुनुवाइका क्रममा प्रस्तुत गरेको कार्ययोजनालाई परिमार्जन गरी पुनः पेश गर्न पनि निर्देशन दिएको छ ।

सांसदहरूले सुनुवाइका क्रममा दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिले आग्रह गरेको छ ।