काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले आफ्ना प्रमुख प्रतियोगिताको व्यावसायिक सञ्चालनका लागि नयाँ कम्पनी स्थापना गरी त्यसमा बाह्य लगानीकर्तालाई स्वामित्व हिस्सेदारी बिक्री गर्ने योजना सार्वजनिक गरेपछि विश्व फुटबलमा विवाद चुलिएको छ ।
इंग्ल्यान्ड फुटबल संघ (एफए) ले उक्त प्रस्तावप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ भने युरोपेली फुटबल महासंघ (यूईएफए) का ५५ सदस्य राष्ट्र यसबारे छलफल गर्न यसै साता आपत्कालीन बैठक बस्ने भएका छन् ।
फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताको व्यवस्थापन गर्न छुट्टै व्यावसायिक सहायक कम्पनी स्थापना गर्ने र त्यसमा निजी लगानीकर्ताले हिस्सेदारी किन्न सक्ने प्रस्ताव अघि सारेको छ । तर, यसले विश्व फुटबलका प्रतिष्ठित प्रतियोगितामाथि निजी क्षेत्रको अत्यधिक प्रभाव बढ्ने र त्यसको परिणामस्वरूप पुरुष तथा महिला विश्वकप र क्लब विश्वकपलाई अझै ठूलो बनाउने दबाब बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
इंग्ल्यान्ड फुटबल संघले प्रस्तावबारे आफूहरूलाई कुनै जानकारी नै नदिइएको जनाएको छ ।
एफएका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ, “हामीलाई यस प्रस्तावबारे कुनै जानकारी थिएन । प्रस्ताव वास्तवमा के हो र त्यसका सर्तहरू के–के हुन् भन्ने विषयमा पनि हामीसँग पर्याप्त विवरण छैन ।”
एफएले सीमित रूपमा सार्वजनिक भएका जानकारीका आधारमा प्रस्ताव तयार पार्ने प्रक्रिया, निर्णय प्रणाली र त्यसका आधारभूत सिद्धान्तप्रति आफूहरू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ । साथै फिफाले प्रस्तावको पूर्ण विवरण सार्वजनिक गरेपछि आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने पनि एफएले स्पष्ट पारेको छ ।
फिफाले आधिकारिक रूपमा प्रस्ताव सार्वजनिक गर्नुअघि नै यूईएफएले त्यसको विरोध जनाएको थियो । फाइनान्सियल टाइम्स र द टाइम्समा योजना सार्वजनिक भएपछि यूईएफएले प्रतिक्रिया दिँदै फिफाले “सीमा नाघेको” टिप्पणी गरेको थियो ।
यूईएफएका सदस्य राष्ट्रहरूको आपत्कालीन बैठक भर्चुअल माध्यमबाट बस्नेछ, जहाँ प्रस्तावविरुद्ध अपनाइने रणनीतिबारे छलफल हुनेछ । फुटबल वृत्तमा देखिएको असन्तुष्टिलाई हेर्दा प्रतियोगिता बहिष्कारको सम्भावनासमेत बैठकमा उठ्न सक्ने अनुमान गरिएको छ ।
उत्तरी तथा मध्य अमेरिकाको फुटबल महासंघ कन्काकाफले पनि फिफाको कदमप्रति असन्तुष्टि जनाएको छ ।
कन्काकाफले विज्ञप्तिमार्फत भनेको छ, “निर्णय प्रक्रियाको अभावप्रति हामी गम्भीर रूपमा चिन्तित छौं । सम्बन्धित निकाय र सरोकारवालासँग कुनै छलफल नगरी यति विस्तृत योजना सार्वजनिक गरिनु निराशाजनक छ ।”
कन्काकाफले फिफा, महादेशीय महासंघ र सदस्य राष्ट्रहरू सबैले खेलको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने दायित्व रहेको पनि स्मरण गराएको छ ।
विश्वकप थप विस्तार हुने चिन्ता
यूईएफए फिफाका २११ सदस्य राष्ट्रमध्ये करिब एक चौथाइ सदस्यको प्रतिनिधित्व गर्ने संस्था भए पनि विश्व फुटबलका अधिकांश शक्तिशाली टोली युरोपमै छन् ।
यस वर्षको विश्वकपमा क्वार्टरफाइनल पुग्ने आठ टोलीमध्ये छ टोली युरोपका थिए, जसमा च्याम्पियन स्पेन पनि समावेश थियो । सन् २०२२ र २०१८ को विश्वकपमा पनि क्रमशः पाँच र छ युरोपेली टोली अन्तिम आठमा पुगेका थिए ।
त्यसैले यूईएफएका सदस्य राष्ट्र सहभागी नभए फिफाका प्रतियोगिताको व्यावसायिक मूल्यमा ठूलो असर पर्ने विश्लेषण गरिएको छ ।
यता फिफाले भने विश्व फुटबलको विकासलाई थप गति दिन सक्ने प्रस्तावहरूबारे विचार गर्न बाध्य भएको तर्क गर्दै आएको छ । तर, यही तर्कका आधारमा सन् २०३० को विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावना बढिरहेको भन्दै फुटबल समुदायमा चिन्ता थपिएको छ ।
सन् २०३० को विश्वकप तीन महादेशका छ राष्ट्रले संयुक्त रूपमा आयोजना गर्ने तय भइसकेको छ । यदि टोली संख्या ६४ पुर्याइयो भने अन्तर्राष्ट्रिय फुटबल पात्रोमा ठूलो दबाब पर्नेछ, किनकि युरोपेली क्लब प्रतियोगिताहरू विस्तार भइसकेका कारण खेल तालिका अहिले नै अत्यन्त व्यस्त छ ।
इंग्लिस फुटबलका एक वरिष्ठ अधिकारीले बीबीसी स्पोर्टसँग कुरा गर्दै फिफाको पछिल्लो योजना विश्व फुटबलले पछिल्ला वर्षहरूमा सामना गरेको सबैभन्दा ठूलो चुनौतीमध्ये एक भएको बताएका छन् । उनका अनुसार यसको प्रभाव सन् २०२१ मा व्यापक विवादपछि ४८ घण्टामै रोकिएको युरोपियन सुपर लिग योजनासँग तुलना गर्न सकिन्छ ।
तर, विश्लेषकहरूका अनुसार फिफाले यसपटक भने आफ्नो योजना त्यति सजिलै फिर्ता लिने सम्भावना कम देखिन्छ ।
फिफाको दाबी : विश्व फुटबलमा १० अर्ब डलर लगानी
फिफाले नयाँ योजनामार्फत विश्व फुटबल विकासका लागि उपलब्ध गराइने रकम बढाएर १० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
यसका साथै फिफाले आफ्ना २११ सदस्य राष्ट्रमध्ये प्रत्येकलाई एकपटकका लागि अधिकतम २ करोड अमेरिकी डलर बराबरको पूँजीगत सहयोग उपलब्ध गराउने योजना पनि अघि सारेको छ ।
पछिल्लो विवादले फिफा र युइएफाबीच लामो समयदेखि चल्दै आएको मतभेदलाई थप गहिरो बनाएको छ ।
यसअघि सन् २०२१ मा तत्कालीन आर्सनल प्रशिक्षक तथा फिफाका वर्तमान विश्व फुटबल विकास प्रमुख आर्सेन वेङ्गरले विश्वकपलाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रस्ताव ल्याउँदा पनि युइएफाले कडा विरोध गरेको थियो ।
यसैबीच युइएफा अध्यक्ष अलेक्जान्डर चेफेरिनले यस महिनाको विश्वकप फाइनलसमेत बहिष्कार गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध निलम्बन गरिएको लगायतका केही विवादास्पद निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले फाइनलमा सहभागी नभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया