देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न कांग्रेसको आग्रह

देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न कांग्रेसको आग्रह


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।

बुधबार पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा देवानगञ्ज–कप्तानगञ्जमा भएको दुःखद घटना र त्यसपछिको परिस्थितिलाई गम्भिर रूपमा लिइएको उल्लेख गरिएको छ। पछिल्लो समय देखिएका सुरक्षासम्बन्धी घटनाले सरकार देश र नागरिकको सुरक्षाप्रति आवश्यक संवेदनशीलता देखाउन असफल भएको कांग्रेसको दाबी छ।

कांग्रेसले सामान्य विवादमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो र संवेदनशील परिस्थितिमा राज्य किन संयमित हुन नसकेको भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरेको छ। साथै, घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र तत्काल निष्पक्ष, स्वतन्त्र तथा विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न पुनः आग्रह गरेको छ।

थप हिंसा र क्षति रोक्न धैर्य, संयम र संवादको बाटो अपनाउन सबै पक्षलाई अपिल गरिएको छ। सामाजिक सद्भाव खलबल्याउने तथा साम्प्रदायिक हिंसा भड्काउने उद्देश्यका गतिविधिप्रति सचेत रहन र अफवाह तथा उत्तेजनाबाट टाढा रहन कांग्रेसले आग्रह गरेको छ।

कांग्रेसले आफ्ना सबै समिति, नेता, कार्यकर्ता र सदस्यलाई पीडित परिवारको सहयोग, घाइतेहरूको उपचार तथा सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिएको छ। साथै, सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिँदै त्यस्तो निर्देशन उल्लंघन गर्ने नेता, कार्यकर्ता वा सदस्यलाई पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।