प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बिहीबार साँझ प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।बिहीबार दिउसो पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक गरेका प्रधानमन्त्री शाहले साँझ राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
त्यस लगत्तै राष्ट्रपति पौडेललाई भेट्न उनी शीतल निवास पुगे।
शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई तराई– मधेशमा उत्पन्न तनाव साम्य पार्न सेना परिचालन भए÷ गरेको जानकारी गराए। राष्ट्रपति सेनाको परमाधिपति समेत हुन्।
‘प्रधानमन्त्रीले सुनसरी, सिरहा लगायत जिल्लामा भइरहेको तनाव र समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्नुभयो’ स्रोतले भन्यो, ‘राष्ट्रपतिलाई तराई–मधेसमा सुरक्षा निकायको परिचालन र अवस्थाबारे जानकारी गराउनुभयो।’
राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रतिक्रिया