काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएका पर्वतारोहीहरूको खोजी अभियान जारी रहँदा शुक्रबार चार जनाको शव फेला परेको छ। बेपत्ता हुनेमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) र पाकिस्तानी पर्वतारोही सोहेल साखी पनि रहेका छन्।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार १० सदस्यीय आरोही टोलीमा ६ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही सहभागी थिए।
नेपाली टोलीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए। अन्य सदस्यमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए।
एसीपीका अध्यक्ष मेजर जनरल इरफान अर्शादले डन पत्रिकालाई चार शव फेला परेको पुष्टि गरेका छन्। उनका अनुसार मृतकमध्ये दुई जनाको पहिचान भएको छ। उनीहरू ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ हुन्। बाँकी दुई शवको पहिचान अझै खुलाइएको छैन।
उद्धार अभियान तीव्र
यसअघि एसीपीका वरिष्ठ उपाध्यक्ष करार हैदरीले जारी गरेको विज्ञप्तिमा उद्धार टोली र विशेष उपकरणसहित पाकिस्तान सेनाको उड्डयन सेवाका दुईवटा हेलिकोप्टर खोजी तथा उद्धार अभियानमा परिचालन गरिएको जनाइएको थियो।
एसीपीका अनुसार क्लबका अध्यक्षसहित वरिष्ठ नेतृत्वले उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारका उच्च अधिकारी तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेका छन्।
विज्ञप्तिमा भनिएको छ, “मौसम र सञ्चालन अवस्थाले अनुमति दिएलगत्तै हेलिकोप्टर तथा उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्न हरसम्भव प्रयास भइरहेको छ।”
क्लबले घटनालाई निरन्तर निगरानी गरिरहेको, सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेको तथा बेपत्ता पर्वतारोहीका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको जनाएको छ।
एसीपीका महासचिव अयाज शिग्रीका अनुसार दुर्घटनाअघि विभिन्न अभियान टोलीले संयुक्त रूपमा शिखर आरोहण सुरु गरेका थिए।
उनका अनुसार केही बेपत्ता पर्वतारोहीबाट प्राप्त जीपीएस विवरणले हिमपहिरोले टोलीलाई करिब एक हजार मिटर तलसम्म बगाएको र उनीहरू त्यहीँ फसेको देखाएको छ।
शिग्रीले हेलिकोप्टरमार्फत उद्धार अभियान शुक्रबार बिहानदेखि सञ्चालन हुने अपेक्षा गरिएको बताए। साथै, स्थानीय उच्च हिमाली भरियाहरू पनि हिमपहिरोबाट प्रभावित भएको आशंका गरिएको छ।
उनले भने, “सबै पर्वतारोहीको सुरक्षाका लागि हामी प्रार्थना गरिरहेका छौं। यो निकै ठूलो दुर्घटना हो।”
उता, गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेन एड्भोकेटले पाकिस्तान सेनासँग समन्वय गर्दै खोजी तथा उद्धार अभियानलाई तीव्र बनाउन सबै सम्बन्धित निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्।
उनले जिल्ला प्रशासन र सम्बन्धित अधिकारीहरूलाई पर्वतारोहीको सुरक्षाका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन्।
गिलगिट–बाल्टिस्तानका पर्यटन, खेलकुद तथा संस्कृति मन्त्री नैकनाम करिमले पनि घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता पर्वतारोहीको खोजी र सकुशल उद्धारका लागि प्रदेश सरकारले सबै सम्भव प्रयास गरिरहेको बताएका छन्।
उनले जारी गरेको विज्ञप्तिमा सबै सम्बन्धित निकायबीच निरन्तर समन्वय भइरहेको र उद्धार अभियानमा उपलब्ध सबै स्रोत–साधन परिचालन गरिएको उल्लेख छ।
मन्त्री करिमले बेपत्ता पर्वतारोही सकुशल फेला पर्ने आशा व्यक्त गर्दै उद्धार कार्यलाई अझ तीव्र बनाउन तथा फिल्डमा खटिएका टोलीलाई आवश्यक सबै प्राविधिक र व्यवस्थापकीय सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया