काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेश प्रदेशका नेताहरूसँग पछिल्लो समय देखिएको हिंसात्मक घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गरेका छन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशमा फैलिँदै गएको तनाव रोक्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
महतोले केही दिनअघि आफूहरूले आठबुँदे निर्णय गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जानकारी गराएको र आज प्रधानमन्त्रीलाई समेत त्यसबारे अवगत गराएको बताए ।
‘यो घटना मधेशमा आगोको रूपमा फैलिरहेको छ, त्यसलाई रोक्नुपर्छ । राज्यले रेस्पोन्स नगरेपछि यो रोकिँदैन,’ उनले भने ।
उनले कुनै पनि घटनाले साम्प्रदायिक स्वरूप लिन नहुने भन्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । ‘मान्छे मान्छेबाट डराउने अवस्था समाजमा आउनु देशको हितमा होइन । सामाजिक सद्भावलाई कुनै पनि हिसाबले कायम गर्नुपर्छ,’ महतोले भने ।
उनले सरकारसँग यस विषयमा गम्भिर पहल गर्न आग्रह गर्दै हिजो गृहमन्त्रीबाट भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताए । ‘सम्झौता रद्दीको टोकरीमा नफाल्नुहोला,’ उनले आग्रह गरे ।
मधेशका अर्का नेताले पनि सामान्य विवादलाई साम्प्रदायिक द्वन्द्वको रूप लिन नदिन सरकार गम्भिर हुनुपर्ने बताए । उनले घटनाको समयमा नै सरकारी संयन्त्र सक्रिय नभएको भन्दै आलोचना गरे ।
‘कुनै एउटा व्यक्तिको झगडा साम्प्रदायिकतासम्म पुग्नु देशकै लागि घातक कुरा हो । यस विषयमा हामी अत्यन्त गम्भिर छौँ,’ उनले भने ।
उनका अनुसार यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग पनि छलफल भएको र आज प्रधानमन्त्रीसँग दुई घण्टाभन्दा बढी समय छलफल भएको थियो । उनले घटना भएको केही दिनपछि मात्रै सरकारको उपस्थिति देखिएको भन्दै समयमै प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
‘घटना घटेको भोलिपल्टै सरकार पुगेको भए सायद त्यो घटना सुनसरीबाट अन्य जिल्लामा फैलिने थिएन होला,’ उनले भने ।
उनले सामान्य विवादमा गोली चल्नु र त्यसबारे सरकारी निकायबाट फरक–फरक धारणा आउनुले थप आशंका सिर्जना गरेको बताए। तर पछिल्लो छलफलपछि धेरै विषय स्पष्ट हुँदै गएको उनको भनाइ थियो ।
यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले पहिलोपटक मधेशकेन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन् ।
उनले सुनसरीमा भएको घटना र त्यसपछि फैलिएको हिंसाका विषयमा प्रधानमन्त्रीले छलफल आयोजना गरेको भन्दै यसलाई सकारात्मक रूपमा लिएको बताए ।
‘हामीले हिंसा रोकिने र सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौँ । यसलाई छिटपुट घटनाका रूपमा मात्र लिनुहुँदैन,’ राउतले भने ।
उनले संघीयता लगायतका विषयमा समेत छलफल भएको जानकारी दिँदै आफूहरूले दिएका सुझाव कार्यान्वयन गर्न सरकार गम्भिर हुनुपर्ने बताए ।
यसैबीद्ब प्रधानमन्त्री वालेन्द्रले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा तराई मधेशमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा सांसदहरू रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद उपस्थित छन् ।

प्रतिक्रिया