काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन भएको उनको कम्पनी एलिट एक्सपेडले औपचारिक रूपमा पुष्टि गरेको छ।
शनिबार कम्पनीले जारी गरेको वक्तव्यमा ब्रोड पिकमा आएको हिमपहिरोका कारण निम्सदाइको दुःखद निधन भएको पुष्टि गर्दै उक्त दुर्घटनामा सहभागी अन्य केही सदस्यहरू पनि जीवित नरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।
कम्पनीले वक्तव्यमा निम्सदाइसँगै ज्यान गुमाएका उनका भरपर्दा आरोहण सहयात्री तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ। साथै दुर्घटनामा ज्यान गुमाउने सबैप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति समवेदना प्रकट गरिएको छ।
वक्तव्यमा शोकमा रहेका परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गर्दै यस्तो अपूरणीय क्षतिको पीडा कम गर्न शब्द पर्याप्त नहुने उल्लेख गरिएको छ।
कम्पनीले निम्सदाइलाई विश्व पर्वतारोहण क्षेत्रले गुमाएको महान् आरोही, साहसी नेता र लाखौं मानिसका प्रेरणास्रोतका रूपमा स्मरण गरेको छ। उनको साहस, विनम्रता र मानव क्षमतामाथिको अटल विश्वासले संसारभरका मानिसलाई ठूलो सपना देख्न, आफ्ना सीमाभन्दा माथि उठ्न र असम्भवलाई सम्भव बनाउन प्रेरित गरेको वक्तव्यमा उल्लेख छ।
निम्सदाइका असाधारण पर्वतारोहण उपलब्धिभन्दा पनि उनले मानिसहरूलाई आफ्नै क्षमतामाथि विश्वास गर्न र सीमित सोचलाई अस्वीकार गर्न सिकाएको कम्पनीको भनाइ छ। उनका कार्यले लाखौं मानिसलाई आफूले सोचेभन्दा धेरै उपलब्धि हासिल गर्न सकिने विश्वास दिलाएको पनि वक्तव्यमा उल्लेख गरिएको छ।
कम्पनीले निम्सदाइको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पकै कारण एलिट एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोर आजको अवस्थामा पुगेको जनाएको छ।
वक्तव्यको अन्त्यमा निम्सदाइको योगदान र विरासत उनले छोएका अनगिन्ती जीवन तथा उनले प्रेरित गरेका मानिसहरूमार्फत सधैं जीवित रहने विश्वास व्यक्त गरिएको छ।
निम्सदाइले ६ महिनाभित्र संसारका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेर विश्वकीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया