जनकपुर । गृहमन्त्री सुधन गुरुङ र धनुषाका विभिन्न हिन्दुवादी संघ संस्थाहरूका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता भएपछि अहिले १ घण्टाको लागि ब्रेक लिइएको छ । गृहमन्त्री सुधन गुरुङसहित, रास्वपाका सांसद, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, डीआईजी, एसपी, डीएसपीलगायका सुरक्षा निकायका पदाधिकारीसहितको टोलीहरू पनि वार्तामा सहभागी रहेका छन् ।
पहिलो चरणको वार्ता सिद्धिएर निस्किने बेला सञ्चारकर्मीहरूसँग छोटे प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले हिन्दुवादी संगठनले उठाएका मागहरू आफूले गम्भिर भएर सुनेको बताए । उनले सबै माग तत्कालका लागि पूरा गर्न नसकिने देखिएको बताए । उनले जायज मागहरू तत्कालै सम्बोधन गर्ने जानकारी दिए ।
वार्तामा सहभागी विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष जानकी रमनले हिन्दु राष्ट्र कायम गर्नेमा आफूहरू अडिग रहेको जानकारी दिए । गृहमन्त्री गुरुङले तत्कालै सम्भव नभएकोले हिन्दु राष्ट्र कायम गर्ने भन्ने विषयलाई केन्द्रमा छलफल गरेर अगाडि बढाइने आश्वासन दिएको अध्यक्ष रमनले बताए । उनले आफूहरूको अन्य मागहरूप्रति गृहमन्त्री साकारात्मक देखिएको जानकारी दिए ।
अर्को चरणको वार्ता आजै १ घण्टापछि बस्ने बताइएको छ ।

प्रतिक्रिया